२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट



अ+ अ-

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर) मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्र छनोट गरिएको जानकारी दिएको हो।

अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि समितिमा दुई नेपाली कथानक चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए।

दुवै चलचित्रको मूल्याङ्कनपछि समितिले अस्करका मापदण्डअनुसार नेपालको प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘तिनीहरू एलिफेन्ट्स इन द फग’लाई सिफारिस गरेको हो।
समितिका अनुसार चलचित्र छनोट गर्दा प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलगायत पक्षमा गहन अध्ययन गरिएको थियो।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्मा तथा सदस्यहरू लोकेन्द्र पराजुली ‘कपिल’, गौतम ढिमाल, जीवनकुमार पराजुली र विकास सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त चलचित्रलाई अस्करमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा छनोट गरिएको उल्लेख छ।