काठमाडौं । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने अर्का विदेशी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ मुलका फ्रेन्च नागरिक छु लुक्ली रहेका छन् ।
लुक्ली महानगरिय प्रहरी परिसरले शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनलाई आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्दा उनले साथबाट प्रहरीले ६ हजार अमेरिकन डलर बरामद गरेको प्रवक्ता बोगटीले जनाए ।
एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसै अनुसन्धानको सिलसिलामा डेक्को मनि ट्रन्सफरका संचालक रविकुमार लामिछाने र नेपालय मनि ट्रन्सफरका संचालक रमेशकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए।