२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी



अ+ अ-

काठमाडौँ: विश्वका शक्तिसम्पन्न राष्ट्रहरुको संगठन ब्रिक्सको १८औँ शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ । त्यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ १० वर्षपछि एकैसाथ भारतमा एउटै मञ्चमा सँगै देखापरेका छन् ।

सम्मेलनमा ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू पनि सहभागी भएका छन् । त्यस्तै कतिपय राष्ट्रलाई आमन्त्रितका रुपमा पनि आउटरिचमा सहभागी गराइँदैछ । त्यो अवसर नेपालका लागि भने यस पटक प्रदान गरिएको छैन ।

यसकारण पनि भारतमा हिजोदेखि सुरु भएको छ ब्रिक्स आउटरिच सम्मेलन र यसका विषयमा नेपालमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएका छन् किन नेपाललाई आमन्त्रण गरिएन या समेटिएन भनेर । नेपाल सो संगठनको सदस्य त होइन तर पनि यसअघि भारतमा आयोजना गर्ने गरिएको आउटरिचमा नेपाललाई आमन्त्रण गर्ने गरिएकाले यस विषयमा टिप्पणी सुरु हुनु स्वाभाविकै हो ।

एउटा अर्काे महत्वपूर्ण कूटनीतिक संयोग के पनि मिलेको छ भने करिब ७ वर्षको अन्तरालपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा आएका छन् । शनिबार बिहान बेइजिङबाट नयाँ दिल्ली पुगेका उनको यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको पनि छ । हामीलाई पनि यसमा आमन्त्रित गरिएको भए भारतीय र चिनियाँ कार्यकारीसँगको हाम्रो भेटवार्ता पनि निकै महत्वपूर्ण हुने थियो ।

यस सम्मेलन चिनियाँ र रसियन राष्ट्रपतिदेखि भारतीय प्रधानमन्त्रीसम्म उपस्थित भएर छलफल गर्नेछन् । सो संगठनको नेपाल सदस्य नभएपनि यसअघि सन् २०१६ मा भारतको गोवामा भएको आठौँ ब्रिक्स शिखर सम्मेलन र त्यसपछि लगत्तै यस्तै आउटरिचमा नेपालाई पनि आमन्त्रण गरिएको थियो ।

त्यसबेला नेपालमा नेपाली कांग्रेस र माओवादीको सरकार थियो र प्रधानमन्त्री थिए पुष्पकमल दाहाल । उनी सो सम्मेलनमा सहभागी मात्र भएका थिएनन्, चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भेटेर तस्बिर नै सार्वजनिक गरेका थिए ।

सो आउटरिचमा उनले सम्बोधन गर्ने अवसर पनि पाएका थिए । त्यस समय पनि संयुक्त राष्ट्रसंघीय महासभाको पूर्व सन्ध्यामा यो सम्मेलन भएकाले महत्वपूर्ण पनि थियो र आफ्ना कुरा राख्न पाउँदा अर्थपूर्ण पनि बनेको थियो ।

ब्रिक्सका दुई संस्थापक देश हुन् ब्राजिल र दक्षिण अफ्रिका । यी दुई देशबाट नेपालले हालैमात्र राजदूताबास बन्द गराएको छ । त्यसका लागि ती देशसँग कुनै कूटनीतिक परामर्श एवं यसका लागि नेपालले किन कदम उठाएको भन्ने विषयको यथार्थ जानकारी समेत ती देशलाई नेपालले दिएको छैन । यो केटाकेटीको खेलजस्तोगरी सम्पादित काम न्यूनतम कूटनीतिक मर्यादाभित्र पनि नपर्ने धारणा कूटनीतिज्ञहरु राख्दै आएका छन् । यो पनि एक हुनसक्छ कारण ।

अर्काे कुरा हो हाल नेपालले विश्वका कैयौँ देशमा राजदूत पठाउन सकेको छैन । कैयौँ देशमा उपसचिव, शाखा अधिकृतको भरमा रहेको छ । ती देशमा के कसरी कूटनीतिक सञ्चालन भइरहेको छ ? कतै रावदूतको अभावमा कूटनीति सञ्चालन गर्दा नेपाल विश्वव्यापी रुपमै कूटनीतिक एकान्ततामा पुगेको त छैन ? के राजदूतका अभावमा ती देशमा सञ्चालन एवं समन्वय हुनुपर्ने न्युनतम कूटनीतिक मर्यादा पनि हुन सकेको छ कि छैन भन्ने विषयमा सरकारले ध्यान दिएको छ ?

ब्रिक्स संगठन आफैमा ग्लोबल साउथमध्येकै एक महत्वपूर्ण मञ्च पनि हो । अनि, हामी पनि ग्लोबल साउथका गतिला पार्टनर सदस्य पनि हौँ । यसमा हामी समेटिन सक्यौँ भनेमात्र हाम्रा मुद्दामा विश्वको ध्यान पुग्न सक्छ । किनभने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको पूर्वसन्ध्यामा भारतमा ब्रिक्सको यो आउटरिचको आयोजना गरिएकाले यसले दक्षिणका धेरै एजेण्डा त्यहाँ लान सक्छ ।

हामी ग्लोबल साउथका धेरै एजेण्डामध्येका एक हौँ र यस क्षेत्रको मुख्य एजेण्डा जलवायु परिवर्तन हो । ग्लोबल साउथमा पर्ने अधिकांश राष्ट्रहरुको अहिलेको पहिलो र मुख्य बन्ने गरेको मुद्दा नै यही हो । अनि हामी यतिबेला जलवायु परिवर्तनको समस्याको अग्रपंक्तिमा उभिएको राष्ट्रका रुपमा पनि छौँ । यस्तो बेलामा ग्लोबल साउथका एक दरिलो पार्टनर बन्न सक्ने मञ्चले हामीलाई गरेको उपेक्षाबाट हामीले सिक्नु जरुरी छ ।

सर्वत्र भनिँदै पनि आइएको छ कि नेपाल यतिखेर निकै ठूलो ‘डिप्लोम्याटिक भ्याकुम’मा परेको छ । किनभने नेपालका विश्वमा रहेका दूताबासमध्ये लगभग आधाजस्तो खाली नै छन् । यस्तो अवस्थामा नेपालको कूटनीति कमजोर हुन सक्दछ । सायद यसैको एउटा परिणाम यो पनि हुनसक्छ कि पहिले पहिले आमन्त्रण गर्ने गरिएको छिमेकमा भएको ब्रिक्स सम्मेलनमा नेपाललाई आमन्त्रण पनि गरिएन ।

फोटो- सिन्ह्वा समाचार एजेन्सी