२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य



अ+ अ-

चितवन। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो ।

यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो ।

उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

उहाँले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । उहाँले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी सेवा सकेसम्म नगरपालिकाबाटै उपलब्ध गराउने हाम्रो लक्ष्य हो । मालपोत र नापीसम्बन्धी सेवा नगरपालिकाबाटै भइरहेको छ । प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा अगाडि बढाइएको छ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायत सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारीमा छौँ ।”

यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार हाल स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा मात्र सुरु गरिएको बताउनुभयो । जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड चालक अनुमतिपत्र नगरपालिकामार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ । यसबाट स्मार्ट कार्ड लिन भरतपुर आउनुपर्ने सेवाग्राहीलाई सहज हुने उहाँले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालयबाट हाल नयाँ चालक अनुमतिपत्र तथा वर्ग थपका लागि लिइने ट्रायलसम्बन्धी काम स्थगित रहेको उहाँले जानकारी दिनुभयो ।

चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न आवश्यक प्रक्रिया अनलाइनबाट गर्न सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो । चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न अनलाइनमार्फत फाराम भर्न र शुल्क भुक्तानी गर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा नागरिक एपमा रहेको क्यूआर स्क्यान गरी फाराम भर्न सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो । रासस