काठमाडौँ, २६ भदौ: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् ।
कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवम् कार्यदल संयोजक राम बहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्नुभएको हो । कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेका छन् । पार्टी महासचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको भएपनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्षले पनि छुट्टै सुझाव तथा प्रतिवेदन प्रस्तुत गरेको उपमहासचिव भट्टले बताउनुभयो । दुवै प्रतिवेदनमा रहेका विषयवस्तु अध्ययन गरेर समान धारणा निर्माण गर्ने र एउटै प्रतिवेदन सचिवालयमा लैजाने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्नेगरि कार्यदलको बैठकस्थगित गरिएको छ । आईतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकले दुइटा प्रतिवेदन आयो । महासचिवलाई जिम्मा दिइएको थियो दोस्रो बैठकले र संयोजकले त्यसलाई संयोजन गर्ने र परिमार्जित गर्ने भन्ने थियो । त्यहाँ अलिकति कन्फ्युजन देखियो । अब संयोजकको पनि छुट्टै प्रतिवेदन आइसकेपछि कार्यदलमा भएका सबैको हातमा दुइटै प्रतिवेदन परेको छ । आज र भोलि अध्ययन गर्ने र पर्सिबाट प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भयो ।’
उहाँले दुईवटा प्रतिवेदन आएपनि पार्टीभित्र ठुलो विवाद भने नरहेको उहाँको भनाई छ । केही विषयमा बुझाइमा अन्तर रहेकाले छुट्टाछुट्टै प्रतिवेदन आएको उहाँले बताउनुभयो । दुई नेताबीच ‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने वा समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्नेबीच केही फरक धारणा देखिएको उहाँले जानकारी दिनुभयो ।
महासचिवको प्रतिवेदनमा केपी ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रश्ताव छैन
उहाँले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको बताउनुभयो । महासचिवको प्रतिवेदन आफूले अध्ययन गरेको उल्लेख गर्दै उहाँले त्यस्तो प्रस्ताव आफूले नदेखेको दाबी गर्नुभयो । उहाँका अनुसार प्रतिवेदनमा केही समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएका छन् । संयोजकले ल्याएको छुट्टै दस्तावेजलाई पनि पूर्ण रूपमा अलग प्रतिवेदन भन्न नमिल्ने उहाँको जिकिर छ । महासचिवले ल्याएका विषयमा केही थप गर्न संयोजकले सुझाव प्रतिवेदन तयार गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महासचिवले तयार गरेको प्रतिवेदन पनि मैले अध्ययन गरेको छु । त्यसमा नेतृत्व मूल नेतृत्वलाई परिवर्तन गरेर जानुपर्छ भन्ने त्यस्तो छैन । केही समीक्षा गरेको छ, केही तलबाट आएका सुझावहरूलाई जस्ताको तस्तै राखेको छ । त्यहाँ आफ्नो भिन्न विचार सुझावहरू उहाँले दिनुभएको छैन । नेतृत्व परिवर्तन गर्ने भन्ने विषय कहिँ पनि महासचिवले तयार गरेकोमा प्रतिवेदनमा छैन ।’
कार्यदलले दुईवटै दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा पेश नगर्ने पनि उहाँले जानकारी दिनुभयो । एकीकृत प्रतिवेदन सचिवालयमा पेश गरिने र सचिवालयबाट पारित भएपछि एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने उहाँको भनाई छ ।









