काठमाडौं । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।
कम्पनीका अनुसार सहयोगले बाढी प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउने प्रयासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
‘भिल’ले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरूको प्रयासको प्रशंसा गरेको छ ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएको बताए ।
उनले आवश्यकताको समयमा गरिएको सानो प्रयासले समेत प्रभावित व्यक्ति तथा समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै आगामी दिनमा पनि अर्थपूर्ण रूपमा सहयोग गर्न सकिने उपायहरू खोजिरहने प्रतिबद्धता व्यक्त गरे ।
‘भिल’ले राहत तथा पुनःस्थापनामा सहयोग गर्न सक्ने व्यक्ति, व्यवसाय तथा संघसंस्थालाई आ–आफ्नो तर्फबाट योगदान गर्दै बाढी प्रभावित समुदायको साथमा उभिनसमेत आग्रह गरेको छ ।









