काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले जेनजी पुस्तासँग सरकारले गरेका सहमति तथा सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका तथा घाइतेका परिवारसँग गरेका सम्झौता कार्यान्वयन गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाए।
उनले मृतक तथा घाइतेका परिवारसँग भएका सहमति यथाशीघ्र कार्यान्वयन गर्न र जेलमा रहेका जेनजी आन्दोलनका सहभागीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।
यादवले सरकारलाई विगतका सहमति र प्रतिबद्धताप्रति गम्भीर बन्न आग्रह गर्दै जनताको भावनालाई बेवास्ता नगर्न चेतावनी दिए।
उनले सत्ता स्थायी नहुने भन्दै जनताको आवाज र इतिहासलाई उपेक्षा गर्ने प्रवृत्ति सरकारका लागि महँगो पर्न सक्ने बताए। भदौ २३ गतेको घटनाले सत्ता स्थायी नभएको सन्देश दिएको उनको भनाइ थियो।
नयाँ जनमतको मानमर्दन हुने गरी थप अहंकारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्,’ यादवले सरकारलाई चेतावनी दिँदै भने।
उनले जेनजी आन्दोलनबाट प्राप्त जनमत र त्यसक्रममा उठाइएका मागलाई सम्मान गर्दै सरकारलाई तत्काल सहमति कार्यान्वयनतर्फ अघि बढ्न दबाब दिए।







