काठमाडौँ: रास्वपाका महामन्त्री विपिन आचार्यले हिजो आफ्नो फेसबुक पेजमा यस्तो लेखेका थिए— अहंकार विनाशस्य मूलम् अर्थात् अहंकार विनाशको मूल कारण हो ।
यसको आसय भन्दा पनि इसारा कता हो भन्ने हिजोको दिनमा महत्वपूर्ण हो । किनभने हिजो जेनजी दिवस हो र सरकारले मनाइरहेको पनि थियो । मन्त्रिपरिषदले हिजो सार्वजनिक विदा दिएको थियो भने सरकारका आधा दर्जन भन्दा बढी मन्त्रीहरु जेनजी आन्दोलनको इपिसेन्टर मानिएको नयाँ बानेश्वरस्थित तत्कालीन संसद भवनमा जम्मा भएर मनाइरहेका थिए ।
प्रमुख अतिथि गृहमन्त्री थिए र अन्य मन्त्रीहरु अतिथि । उनीहरुले देशमा कुशासन र जनताले डेलिभरि नपाएका कारण नै देशमा जेनजी आन्दोलन सुरु भएको भनेर अघिल्लो केपी ओलीको सरकारलाई गाली गरिरहेका थिए ।
तर वर्तमान सरकारलाई औँला उठ्याउनेलाई भने उनीहरु पक्राउ गरिरहेका थिए । अझ रमाइलो कुरा त के थियो भने त्यहाँ प्रधानमन्त्री वालेन्द्र शाहको मात्र प्रसंशा थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै चर्चा थिएन । पार्टी सभापतिलाई त त्यहाँ कसैले सम्झिने कुरा पनि भएन, उनी सायद यो कार्यक्रमका बारेमा पार्टीलाई थाहा पनि थिएन होला ।
उता कार्यक्रममा आफ्नै प्रशंसामा गृहमन्त्री सुधन गुरुङ रमाइरहेका बेला यता पार्टी महामन्त्री आचार्यले भने यस्तो स्टाटस लेखिरहेका थिए । त्यसैले, अनुमान लगाउनेहरुलाई के सजिलो थियो भने यो आसय छर्लङ्गै रहेको यो स्टाटसको इसारा चाहिँ प्रधानमन्त्री वालेन्द्र र गृहमन्त्री सुधनप्रति नै थियो ।
उता रास्वपाकै सचेतक क्रान्तिशिखा धितालले पनि जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर आपत्ति नै जनाएकी छिन् । उनले पनि फेसबुकमा स्टाटस लेखेर नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गरिएको कार्यक्रमले सहिद र घाइतेहरूको अपमान गरेको सम्म भन्न भ्याएकि छिन् ।
उनले त कार्यक्रमको स्वरूप, मञ्चको बनोट र त्यहाँ धर्मगुरुहरूको उपस्थितिलाई लिएर पनि प्रश्न उठाएकि छिन् । उनले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो । त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन ग¥यो, जसले आफ्ना सन्तान गुमाएका छन् ।’
उनले आन्दोलनका घाइतेहरूको भावनालाई कार्यक्रमले समेट्न नसकेको भन्दै नेतृत्वमा रहेकाहरूले यस्तो शैलीलाई किन हस्तक्षेप गर्न नसकेको भन्दै प्रश्न गरेकी छन् । सचेतक धितालले सरकारलाई निरन्तर प्रश्न गर्दै पनि आएकि छिन् । उनले हामीले हिजोका दिनमा हिजोका शासकहरुप्रति प्रश्न उठाएर नै जेनजी आन्दोलन गर्यौं र आज यो अवस्थामा आएका छौँ भने आज पनि हाम्रा विरुद्धमा जनताले प्रश्न उठाउन पाउने कि नपाउने भन्ने नै प्रश्न गर्ने गरेकि छिन् ।
रास्वपामा पछिल्लो समय प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछाने गरी दुई कित्तामा सांसदहरु, नेताहरु उभिइसकेका छन् । यसको अर्थ पार्टीभित्र अहिले यो विषयमा निकै बहस सुरु भइसकेको छ भन्ने पनि हो ।
हिजोकै स्मृतिसभामा पनि पार्टीलाई थाहा नै नहुनु र सो कार्यक्रमलाई सरकारले मात्र आयोजना गरेर मन्त्री माथि उपस्थित गराउनु तथा सरकारका कार्यशैलीप्रति प्रश्न उठाउने हिजोको जेनजी आन्दोलनकै अगुवाई पक्राउ गर्नुसँग पार्टीको कुनै सम्बन्ध नरहेको रास्वपाका नेताहरुले पार्टी पंक्तिभित्र विचार राखेका छन् ।
खोजिपसे यसरी सरकारका कार्यशैलीका बारेमा फेसबुकमा रास्वपाका धेरै सांसद तथा मन्त्रीहरुले प्रश्न उठाएका छन् । यो देख्दा लाग्छ यतिखेर रास्वपाका नेताहरुले नै सरकारका विरुद्धमा फायर खोलेका छन् ।









