काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बाराको सिर्सिया नदीलाई पुनःजीवन दिन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
सिर्सिया नदीमा आसपासका उद्योगबाट फोहर पदार्थ मिसाई प्रदूषित बनाइएको सम्बन्धमा सो क्षेत्रका उद्योगीहरुसँग आज यहाँ भएको छलफलमा मन्त्री कुमारीले सिर्सिया नदी वीरगञ्ज सहर तथा दर्जनौँ गाउँहरुको जीवन रेखाका रुपमा रहेकाले यसको संरक्षणमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिलो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरुले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लङ्घन गरी सिर्सिया नदीलाई प्रदूषित गरेकाले यस क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।” सो प्रदूषणले उक्त क्षेत्रका किसानले पालेका गाईभैँसीलगायत अन्य पशु तथा जीवजन्तुलाई मात्र नभई त्यहाँ बसोबास गर्ने लाखौँ नागरिक प्रभावित भएको उहाँको भनाइ थियो ।
मन्त्री कुमारीले सो सम्बन्धमा राज्यका सम्बन्धित निकायहरुले पटक पटक सजग गराउँदा पनि हालसम्म कुनै किसिमको उल्लेख्य सुधार नदेखिएको र सो क्षेत्रका जनताको निरन्तर गुनासो आइरहेको बताउँदै सो सम्बन्धमा मन्त्रालय गम्भीर भएको उल्लेख गर्नुभयो ।
“पटक पटक गुनासोका बाबजुद उद्योगहरुले आफ्नो क्षेत्रबाट खोलामा दूषित पानी पठाई वातावरण संरक्षणसम्बन्धी ऐनको दायरा उल्लङ्घन गरेको र सोबाट गाईवस्तुलगायत मानव स्वास्थ्यमा गम्भीर असर परेको गुनासो छ,” उहाँले भन्नुभयो ।
मन्त्री कुमारीले नदी सुधार र सफाइ अभियानमा आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै पनि किसिमको ढिलाइ र कमी नगरी छिटोभन्दा छिटो जनताको गुनासो सम्बोधन गरी सिर्सिया नदीलाई पुनःजीवन दिनका लागि सम्बन्धित उद्योगीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सिर्सिया नदीको पृष्ठभूमि, विद्यमान अवस्था, वातावरणीय मापदण्ड, नियमनकारी निकायबाट भएका प्रयास, नदी प्रदूषण नियन्त्रणमा उद्योगको भूमिका, समस्या तथा चुनौतीलगायत विषयमा प्रस्तुति दिनुभएको थियो । साथै सो क्षेत्रका उद्योगीहरुले सिर्सिया नदी सफाइ र संरक्षणका लागि आफूहरुले गरेको योगदान तथा उद्योग सञ्चालनमा देखिएका कठिनाइ र चुनौतीका बारेमा मन्त्री कुमारीलाई अवगत गराउनुभएको थियो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाअन्तर्गत पर्ने रामवनबाट उत्पत्ति भई पर्साको वीरगञ्ज महानगरपालिका हुँदै भारतको रक्सौलतर्फ बग्ने सिर्सिया नदी ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुनै समय यस क्षेत्रको ‘लाइफलाइन’ तथा स्वच्छ जलको स्रोत रहेको यो नदी वीरगञ्जको पहिचान र सभ्यतासँग जोडिएको छ ।
तराई क्षेत्रको महत्वपूर्ण छठ पर्वमा व्रतालुहरूले यसै नदीको किनारमा पूजाआजा गर्ने गरेका छन् । एक अध्ययनकाअनुसार वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर नामले चिनिने यस भेगमा ४४० भन्दा बढी उद्योग रहेका छन् । नदीको दायाँबायाँ मात्रै पनि सयौँको सङ्ख्यामा उद्योग स्थापना भएका छन् । रासस









