काठमाडौं । भक्तपुर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ लाख ७१ हजार आर्थिक सहयोग गरेको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यही भदौ १८ गते बसेको नगर कार्यपालिकाको बैठकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले मिति २०८३ भदौ १८ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट रु १७ लाख ७९ हजार, सफाइ ठेकेदार र ज्यालादारी तर्फबाट रु एक लाख ६८ हजार, जनप्रतिनिधिका तर्फबाट रु एक लाख र प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमबाट रु १७ हजार आर्थिक सहयोग गरिएको हो ।
त्यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले रु एक लाख ९५ हजार, ख्वप माविले रु ६ लाख ६२ हजार, ख्वप कलेज अफ ‘ल’ले रु ४४ हजार, ख्वप इन्जिनियरिङ कलेजले रु चार लाख १३ हजार, ख्वप कलेज अफ इन्जिनियरिङले रु तीन लाख ४४ हजार, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले रु ८३ हजार तथा ख्वप अस्पतालले रु सात लाख ६२ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको हो ।
यसअघि जिल्लाको सूर्यविनायक नगरपालिकाले रु ५५ लाख ५५ हजार, मध्यपुर नगरपालिकाले रु ५१ लाख र चाँगुनारायण नगरपालिकाले रु ५० लाख ३५ हजार सहयोग घोषणा गरेको थियोे ।









