काठमाडौं । कक्षाकोठामा बसेर पढ्नुपर्ने कक्षा ५ का विद्यार्थी मनिष बस्नेत केही दिनयता सडकमा ग्यासको सिलिण्डर कुर्दै छन् । घरको चुलो निभेपछि खाना पकाउने ग्यासको अभावमा उनी शनिवारदेखि काठमाडौंको एक साँघुरो गल्लीमा सिलिण्डर लिएर लाइनमा बस्न बाध्य भएका हुन् ।
सामान्य अवस्थामा यतिबेला विद्यालयको पोशाकमा कक्षाकोठामा साथीहरूसँग पढिरहेका हुने मनिषको दैनिकी अहिले भने ग्यासको लाइनमा बितिरहेको छ । सडकको पेटीभरि सयौँ रातो एलपीजी सिलिण्डर फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन् । त्यही सिलिण्डरको लस्करको बीचमा मनिषजस्ता बालबालिका ग्यास आउने प्रतीक्षामा छन् ।
‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल पनि जान पाएनँ । एक दिनको छुट्टी लिएर यहाँ आएको हुँ । अब ग्यास आएन भने पछाडिको मान्छेले आफ्नो सिलिण्डर अगाडि लैजान्छन् । ग्यासको अभाव छ । शनिवारदेखि बसिरहेको छु । मंगलवारसम्म आउँछ, बसिराख्नु भनेका छन् । म पाँच कक्षामा पढ्छु,’ मनिषले भने ।
शनिवारदेखि सुरु भएको उनको पर्खाइ सोमवारसम्म पनि टुंगिएको छैन । आइतवार साँझसम्म डिपोको सटर नखुलेपछि ‘भोलि बिहानै गाडी आउँछ’ भन्ने आश्वासनमा उनी घर फर्किएनन् । उनका आमाबुबा ज्यालामजदुरीमा जाने भएकाले घरबाट कोही एक जना लाइनमा नबसे सिलिण्डर पाउने पालो गुम्ने डर छ ।
त्यसैले मनिषले विद्यालयमा एक दिनको बिदा लिने निर्णय गरेका थिए । तर ग्यास नआएपछि उनको एक दिनको बिदा चार दिनको गैरहाजिरीमा परिणत हुने अवस्था आएको छ ।
ग्यासको अभावका कारण उपभोक्ताले लामो समय लाइनमा बस्नुपरेको छ । सिलिण्डरलाई सिक्री र ताल्चाले बाँधेर पालो सुरक्षित गर्नुपर्ने अवस्था छ । कतिपय परिवारले आफ्ना बालबालिकालाई समेत सिलिण्डरको पहरा दिन पठाएका छन् ।
सरकार तथा नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको र उपभोक्ता आत्तिनु नपर्ने बताउँदै आए पनि सडकको अवस्था भने त्यसविपरीत देखिएको छ । ग्यासको प्रतीक्षामा सयौँ उपभोक्ता घण्टौँ तथा दिनौँसम्म लाइनमा बसिरहेका छन् ।
ग्यास नपाउँदा दैनिक जीवन मात्र प्रभावित भएको छैन, बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । विद्यालय जाने उमेरका बालबालिका कक्षाकोठाको सट्टा सडकमा सिलिण्डर कुर्नुपर्ने बाध्यतामा पुगेका छन् ।
मंगलवारसम्म ग्यास आउने आश्वासन पाए पनि मनिषको विद्यालय कहिले नियमित हुन्छ भन्ने निश्चित छैन । केही थान ग्यासका सिलिण्डर आएर तत्कालको समस्या समाधान भए पनि अभावका कारण उनले गुमाएको पढाइ र बिताएको समय भने फर्किने छैन ।
देशको भविष्य मानिएका बालबालिकालाई कक्षाकोठाबाट निकालेर अत्यावश्यक वस्तुको लाइनमा उभ्याउने अवस्था आउनु राज्यको आपूर्ति व्यवस्थामाथिको गम्भीर प्रश्न हो । नागरिकका आधारभूत आवश्यकता सहज रूपमा उपलब्ध गराउने जिम्मेवारी राज्यको भए पनि ग्यास अभावका कारण बालबालिकासमेत प्रभावित हुन थालेका छन् ।
–न्युज एजेन्सी नेपाल









