२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ



अ+ अ-

काठमाडौँ, २१ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले विपद् व्यवस्थापनमा खटिनुहुने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताउनुभएको हो ।

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन । सङ्कटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ । सङ्कट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौँ ।”

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गर्नुभएको छ । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेरसमेत जतिसक्दो चाँडो अस्पताल पु¥याएको उहाँले बताउनुभएको छ ।

साथै शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा सङ्क्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहनुभएको प्रधानमन्त्री शाहको भनाइ छ ।

“कठिन भूगोल छ, प्रतिकूल मौसम छ, तर, हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ”, उहाँले भन्नुभएको छ, “तपाईंहरूले प्रभावितको पीडा गहिरोसँग बुझ्नुभएको छ । बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसको सङ्ख्या ठूलो छ । त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ ।”

हामीलाई थाहा छ– तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ । बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ । यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ । सकिनसकी शव उठाइरहनुभएको छ । होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ । अझै पनि बाढी आउनसक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ । तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर सङ्कट व्यवस्थापनमा लागिरहनुभएको प्रधानमन्त्री शाहको भनाइ छ ।

“आ–आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीलाई निर्देशन दिइरहनुभएको छ । समन्वय गरिरहनुभएको छ । कमान्डरलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिँदै गर्दा आफैँ अप्ठ्यारोमा पर्छन् की ? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनुभएका आफ्ना साथीहरुको मनोबल उच्च राख्ने प्रयास गरिरहनुभएको छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ । रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।

प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षा निकायको सहयोग लिएर उद्धारको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारको नेतृत्व गरिरहेको छ । यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको छ । साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ । नुवाकोटको देवीघाटमा सेना आफँैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सेना खटिरहनुभएको छ ।

नेपाल प्रहरीले पनि बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्री शाहको भनाइ छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् । घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ । शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ । जोखिमपूर्ण क्षेत्रमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ । त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मेहनत गरिरहेको छ । हाल बाढी प्रभावित क्षेत्रमा सात हजार ९७५ प्रहरी खटिरहनुभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार, सशस्त्र प्रहरी बल, नेपालले पनि कठिन भूगोल र उर्लदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ । त्यसका लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो । ड्रोन स्क्वाड परिचालन गरिरहेको छ । केनाइन टोली पनि सँगसँगै खटाएको छ । प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ । प्रभावित क्षेत्रको नेपाल–चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ । हाल प्रभावित क्षेत्रमा चार हजार २०३ सशस्त्र प्रहरी खटिरहनुभएको प्रधानमन्त्री शाहको भनाइ छ ।रासस