२१ भाद्र २०८३, आईतवार
,
Latest
राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन



अ+ अ-

धादिङ । सडक विभागले धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित कृष्णभीरमा पुनः सक्रिय भएको पहिरोको दीर्घकालीन समाधानका लागि दुईवटा विकल्प अघि सारेको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार कृष्णभीरको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पहिरोको स्थायी समाधानका लागि सुरुङमार्ग निर्माण वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक निर्माण गर्ने विकल्पमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हालैको वर्षा र बाढीका कारण कृष्णभीरको तल्लो भाग कटान हुँदा यसअघि नियन्त्रणमा आएको पहिरो पुनः सक्रिय भएको हो । बाढीका कारण पहिरो नियन्त्रणका लागि निर्माण गरिएको सुरक्षा पर्खाल भत्किएपछि समस्या बल्झिएको उहाँले बताउनुभयो ।

यातायात सञ्चालनमा ल्याउन विभागले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै महानिर्देशक जैसीले ट्रयाक खोल्ने क्रममा पहाडको भित्री भागमा अपेक्षा गरिएभन्दा बढी दरार देखिएको बताउनुभयो ।

“रसुवाको बाढीपछि सिर्जित समस्याले यहाँको सुरक्षा पर्खाल भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार देखिएका छन्,” उहाँले भन्नुभयो, “ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ ।”

सडक सञ्चालनका लागि विश्व बैंकको ठेक्काअन्तर्गतका निर्माण व्यवसायी तथा आवश्यक उपकरण परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रातिको समयमा समेत फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै काम भइरहेको उहाँको भनाइ छ ।

प्राविधिक जटिलताका कारण सडक पूर्णरूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने ठ्याक्कै मिति तोक्न कठिन भए पनि उच्च प्राथमिकताका साथ काम भइरहेको महानिर्देशक जैसीले बताउनुभयो ।

कृष्णभीरको स्थायी समाधानका लागि विभागले सुरुङमार्ग निर्माण गर्ने तथा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तार गरी दुईवटा पुल निर्माण गर्ने विकल्पमा अध्ययन गरिरहेको छ ।

“यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुन्छ, त्यसलाई नै हामी अगाडि बढाउनेछौँ,” उहाँले भन्नुभयो ।

यसैगरी त्रिशूली करिडोरसहित विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण क्षतिग्रस्त करिब २९ वटा पुलको मर्मत, सम्भार तथा पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको छ ।

धादिङको फुर्केखोला पुलमा पिलरबिनाको बेलीब्रिज राख्ने तयारी भइरहेको महानिर्देशक जैसीले बताउनुभयो । ९४ मिटर लामो स्पानमा पुल जडान गर्ने विषयमा चिनियाँ विशेषज्ञसँग परामर्श भइरहेको उहाँले जानकारी दिनुभयो ।

चीनबाट ल्याइएको १०० मिटर लामो बेलीब्रिज फुर्केखोलामा जडान गर्न सकिए दुईदेखि तीन साताभित्र यातायात सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

सडक विभागसँग पुल निर्माण तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि आवश्यक दक्षता रहेको उल्लेख गर्दै महानिर्देशक जैसीले क्षतिग्रस्त संरचनालाई यथासक्य छिटो पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशभरको करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्नु चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोत, साधन र जनशक्तिले भ्याएसम्म विभाग २४ सै घण्टा परिचालित रहेको उहाँले बताउनुभयो ।

यसैबीच राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभीरको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि आवश्यक पहल तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

सडक विभागले जोखिमपूर्ण अवस्थामा सडक सञ्चालन गर्नुभन्दा सुरक्षित रूपमा यातायात सञ्चालन गराउने उद्देश्यले काम भइरहेको जनाउँदै सर्वसाधारणलाई केही समय धैर्य गर्न आग्रह गरेको छ ।