६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेताहरूलाई थापाको आग्रह- बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी किन गराइएन भन्दै प्रश्न उठाए।

‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्। हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं?’

सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सकलाई उद्धृत गर्दै आएका समाचारहरुका आधारमा स्वास्थ्य सुधार उन्मुख रहेको अनुमान लगाउन सक्ने भन्दै उनले सम्पूर्ण सुधारको कामना गरे । उनले अघि भने, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’

तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए । प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’

प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान पुर्‍याएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनले बताए ।

सांसद थापाले भने, ‘प्रधानमन्त्रीको मनको इच्छाको सम्मान गर्छु र फेरि पनि कामना गर्छु कि फर्किएर आएपछि प्रधानमन्त्रीले रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै प्रार्थना गर्छौं कि विश्राम नलिन, काम गर्न सक्ने हुनुहोस् । आवश्यकता पर्दा २४/७ काम गर्न सक्ने हुनुस् । तर त्यस्तो अवस्था आउँदैन भने …।’

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन्। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीमा अहिले मिर्गौलासम्बन्धी एन्टिबडी बढी भएको छ।

गत साउनमा उनी पहिलो पटक उपचारका लागि सिंगापुर गएका थिए। पहिला थाइल्याण्डको बैंककमा नियमित फ्लोअप गराइरहेका प्रधानमन्त्रीले सिंगापुरमा औषधी परिवर्तन गरेका थिए।उक्त औषधीको असरले बिरामी हुन थालेपछि उनी फेरि भदौ ५ गते सिंगापुर गएका हुन्।