काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज (आइतबार) चीर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ ।
नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।
पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
आजै बंगलादेशले पनि श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्न सफल हुनेछ ।