काठमाडौँ । ‘१० गते देखि आजसम्म ५० जना जति युटुवे लखेटें । हिजो त एउटाले हिलाम्मे हातको चट्कन पनि भेट्यो। कट्टु गन्जी लगाएर बाढीको लेदोपानीले पुरिएको आफ्नै घर पसल सफा गर्दै थिंए “ ल हेर्नुस् यो सेतै कपाल फुलेको बुढो मान्छेको हालत यस्तो छ , यस्लाई आर्थिक सहयो गर्न हामीलाई संपर्क राख्नुहोस् भन्दै साइडबाट भिडियो खिच्दै रहेछ ।’
नुवाकोटका एकजना स्थानीयले आज लेखेको फेसबुक स्टाटस हो यो । उनी आफैँ पीडित, मनभरि कति पीडा छ भन्ने कुराको कुनै लेखाजोखा नै छैन । आफैँले बाढी सफा गर्दैछन् नदीले पुरेको घरको । तर यसरी मिडिया जान्छन् र दुखेको घाउ थप दुखाउन थाल्छन् ।
हुन पनि क्यामेरा लिएर कसैको अगाडि उभिएर, “तपाईंलाई कस्तो महसुस भइरहेको छ ?” भन्दै बारम्बार आँसु झार्न बाध्य पार्नु समाचार होइन । आफ्नो परिवारका सदस्यको अवस्था थाहा नभएको व्यक्तिलाई पटक–पटक एउटै प्रश्न गरेर उसको पीडा सार्वजनिक गर्नु पत्रकारिता होइन । शव, घाइते शरीर, रुँदै गरेका बालबालिका वा शोकमा डुबेका परिवारको दृश्यलाई ‘भाइरल’ बनाउन खोज्नु त झन् मानवीय संवेदनशीलताको गम्भीर उल्लङ्घन हो ।
हो, नरेश खतिवडाको स्टाटसले पनि यही कुरा भन्छ कि घटनास्थलमा पुगेका युटुबेहरुले पत्रकारिताको खिल्ली नै उडाएका छन् । उनीहरु पत्रकारिताको सामान्य आचारसंहिताको पालना गरेका छैनन् र प्राकृतिक प्रकोपका समयमा सञ्चारकर्मी मात्र होइन कि नागरिकले अपनाउनुपर्ने सामान्य एउटा शिष्टाचार र संहिताको पनि ख्याल गरेका छैनन् ।
त्यसैले यो भन्नुपर्छ कि पीडित नागरिक समाचारको विषय मात्र होइन, सम्मान र अधिकार भएको मानिस हो । विपद्को समयमा मानिस मानसिक रूपमा अत्यन्त कमजोर अवस्थामा हुन्छ । त्यसैले उसले कुनै पनि थप कुराहरु सञ्चार नगर्न पनि सक्छ । यदि त्यस्तो इच्छा भयो भने उसले पाउँछ, उसलाई जबर्जस्ती गर्नु हुदैन ।
समाचार सम्प्रेषण पत्रकारिताको धर्म हो, तर पीडामा परेका मानिसको पीडा थप गहिरो बनाउनु पत्रकारिताको धर्म होइन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले यतिबेला हामी सबैलाई यही प्रश्नतर्फ फर्काएको छ कि यस्तो विपदका बेलमा सञ्चारमाध्यमले के देखाउने या नदेखाउने ?
भोटेकोशीको बाढीले क्षणभरमै बस्ती, सडक, पुल, बजार, सरकारी संरचना र नागरिकका वर्षौंको मेहनत बगाइदियो । टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भयो । सडक र पुल बगे, जलविद्युत् आयोजनाहरू प्रभावित भए र सयौँ परिवार विस्थापन तथा अनिश्चितताको अवस्थामा पुगे ।
बाढीले भौतिक संरचनाको विनाश गरेको कुरा त अनगिन्ती नै छ । तर यसमा मात्र सीमित छैन क्षति । मानिसका मन मात्र भत्किएका छैनन्, जीवन नै समाप्त भएका छन् । आफन्त र परिवार नै गुमाएका छन् । यस्तो बेलाको पीडा कसरी मापन गर्ने ? अनि यस्ता बेलामा के भनेर ती पीडित र परिवारका मुखमा लगेर क्यामेरा तेर्साउने ?
त्यसैले यही संवेदनशील अवस्थामा सञ्चारमाध्यमको जिम्मेवारी अझ बढेको हुन्छ भन्नु कुरा ख्याल गर्नुपर्छ । मिडिया या पत्रकार भनेको पीडा दिने कर्म या औजार होइन । बरु पीडितलाई सान्त्वना दिने पेशा भने हो ।
विपद्को समाचार त दिनैपर्छ, यो अति आवश्यक पनि छ । यसबेलामा सरकारको कमजोरी देखाउनु पनि आवश्यक छ । उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न उठाउनु पनि अति आवश्यक छ । पीडितको आवाज राज्यसम्म पु-याउनु त झन् पत्रकारिताको मुख्य दायित्व नै हो । तर यो सब कामका लागि पीडितको घाउ कोट्याइरहनुपर्छ भन्ने चाहिँ छैन ।
यो जिम्मेवारी बोध हुदाहुदै पनि सामाजिक सञ्जाल र डिजिटल पत्रकारिताको प्रतिस्पर्धाले यस्ता बिपदका बेलामा समस्या थप जटिल बनाएको छ । अपुष्ट सूचना, सनसनीपूर्ण शीर्षक र पीडादायी दृश्य तुरुन्त सार्वजनिक गर्ने प्रवृत्ति झन् बढ्दो छ । भोटेकोशी बाढीको प्रारम्भिक क्षतिको विवरण नै क्रमशः अद्यावधिक हुँदै गएको थियो । यस्तो अवस्थामा अपुष्ट संख्या वा अनुमानलाई तथ्यका रूपमा प्रस्तुत गर्दा आफन्त र परिवारमा थप त्रास उत्पन्न हुन सक्छ ।
त्यसैले मिडियाको अहिलेको काम भनेको पत्रकारिताको आचारसंहिताको पालना गर्ने र थय संयमित हुने नै हो । यसका लागि सबै पत्रकार जिम्मेवार बन्नुपर्छ । हामीले समाचार सम्प्रेषण गरिरहम्दा कतै पीडितलाई थप पीडा त पुगेको छैन ? ख्याल गर्ने पर्दछ ।
तस्बिर : प्रदीप राज वन्त, नुवाकोट









