काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूलीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। साथै पार्टीले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकमा बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी तथा नुवाकोटका पार्टी सभापति रमेश महतले जानकारी गराएका थिए।
समितिका सदस्य सचिव मानबहादुर थापाले पार्टीको तर्फबाट भइरहेको समन्वय, सहजीकरण र आगामी तयारीबारे जानकारी दिएका थिए।
कांग्रेसले संकटको यो घडीमा सरकार, प्रतिपक्षी दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने जनाएको छ। बाढीका कारण हराइरहेका व्यक्तिको खोजी तथा जोखिममा रहेकाहरूको तत्काल उद्धार, स्थानान्तरण र राहतलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्दै नागरिकको जीवनरक्षाका लागि सरकारले अघि बढाउने सकारात्मक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।
प्रभावित क्षेत्रबाट आफन्त हराएको तर खोजी तथा उद्धारमा ढिलाइ भएको, एकद्वार प्रणालीका कारण राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको र अति प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो आइरहेको कांग्रेसले जनाएको छ। यस्तो अवस्थामा राज्य पीडितको भरोसाको केन्द्र बन्नुपर्ने भन्दै सरकारले व्यवस्थापनका क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्नुपर्ने कांग्रेसको भनाइ छ।
विशेषगरी सुरुङमा फसेका व्यक्तिको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ। आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्न, हवाई उद्धारलाई थप प्रभावकारी बनाउन तथा रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न कांग्रेसले माग गरेको छ। सुरुङ उद्धारका लागि आवश्यक परे मित्रराष्ट्रबाट प्रविधि र दक्षतासहितको थप उद्धार टोली ल्याउन तथा हेलिकोप्टर भाडामा लिएर भए पनि उद्धार कार्यलाई तीव्र बनाउन।सरकारसँग आग्रह गरिएको छ।
कांग्रेसले उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन यातायातको व्यवस्था गर्न तथा हराएका र मृतकका परिवार, घाइते, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीको सुरक्षा, संरक्षण, स्वास्थ्य, परामर्श, सरसफाइ र औषधि व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले संघीय सरकारको नेतृत्वमा प्रदेश र स्थानीय तह, निजी क्षेत्र तथा समुदायको सहभागितामा उद्धार, राहत र पुनःस्थापनाको काम एकीकृत रूपमा अघि बढाउनुपर्ने कांग्रेसको भनाइ छ।
विकट तथा अति प्रभावित बस्तीमा राहत पुग्न नसकेको भन्दै कांग्रेसले भौगोलिक कठिनाइका कारण केही ढिलाइ भएको भए पनि स्थानीय सरकार, सुरक्षा निकाय र समुदायसँग समन्वय गरी तत्काल राहत पुर्याउन आग्रह गरेको छ। एकद्वार प्रणालीका नाममा प्रशासनिक झन्झट सिर्जना गरेर जोखिममा रहेका नागरिकलाई थप समस्यामा नपार्न र स्थानीय सरकारमार्फत समन्यायिक रूपमा राहत वितरण गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक सञ्चालन गर्न वैकल्पिक यातायातको व्यवस्था गर्न, क्षतिग्रस्त पुलमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन तथा अवरुद्ध विद्युत् र सञ्चार सेवा यथाशीघ्र सञ्चालन गर्न संघीय सरकारका सम्बन्धित निकायलाई कांग्रेसले आग्रह गरेको छ।
बाढीले बगाएका शव यत्रतत्र रहेको भन्दै कांग्रेसले प्रभावित क्षेत्रमा स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्न र शवको विवरण सुरक्षित राख्दै परिवारलाई सनाखतको अवसर प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। मृतकप्रति सम्मान गर्दै परिवारले आफ्नो संस्कृति र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने कांग्रेसको भनाइ छ।
कांग्रेसले विपद् प्रभावित जिल्लाका पार्टी नेतृत्व, सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई हराइरहेका नागरिकको खोजी, प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणमा स्थानीय तह र विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी परिचालित हुन आग्रह गरेको छ।
यसैबीच, कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्री विपद् राहत कोषमा एकमुष्ट १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। त्यसका लागि पार्टीका तहगत कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टी सदस्यलाई विपद् कोषमा सहयोग रकम जम्मा गर्न बैठकले आग्रह गरेको छ।
कांग्रेसले केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँपालिका तथा नगरपालिकाका वडासम्म सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न निर्देशन दिएको छ। समितिले प्रभावित क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी पार्टीले गर्नुपर्ने समन्वय, सहजीकरण तथा सहयोगका विषयमा सिफारिस गर्नेछ।








