नुवाकोट । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले आवश्यक उपकरण आयोजनास्थलतर्फ पठाएको छ।
उद्धार कार्यलाई सहज बनाउन नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याएर खण्ड–खण्डमा छुट्याएको छ। त्यसपछि ती उपकरणलाई हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र परिचालन भइरहेको छ। गएराति आयोजनास्थलमा भीषण बाढी आए पनि उद्धार प्रयास भने निरन्तर जारी राखिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार अहिले सुरुङको प्रवेशद्वार खोल्ने काम भइरहेको छ। करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’को काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।









