काठमाडौं । रसुवा बाढीबाट भएको मानवीय क्षति थप बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ १४ गते दिउँसो १ बजेसम्म बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा गरी ७५२ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो। चितवनमा फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत रहेका छन्।
बाढीमा परी २३९ जना घाइते भएका छन्। घाइतेमध्ये उपचाररत तथा उपचारपछि घर फर्किएका व्यक्तिको विस्तृत विवरण प्राधिकरणको सामाजिक सञ्जाल र वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा उपचार तथा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन ६ वटा सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ।
बाढीपछि विभिन्न क्षेत्रबाट गरी २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना रहेका छन्। त्यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना सम्पर्कविहीन छन्। विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
यसैगरी ५९२ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ। विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना तथा क्वारेन्टाइन कार्यालयका तीन जना पनि सम्पर्कविहीनको सूचीमा छन्।
खोज तथा उद्धारका क्रममा हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बल नेपालले ३ हजार ५७ जनाको उद्धार गरेका छन्। जलविद्युत् आयोजनाका सुरुङबाट भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली सेनाले हवाई उद्धारमार्फत २३६ जना विदेशी र २ हजार ८४५ जना नेपालीको उद्धार गरेको जनाएको छ। हालसम्म उद्धार तथा राहतका लागि ३६३ वटा हवाई उडान भएका छन् भने भदौ १४ गते मात्रै ४१ वटा उडान गरिएको छ।
खोज, उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार २९३, नेपाली सेनाका ८ हजार ३९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना छन्।
पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। पहिचान नखुलेका शवको विस्तृत विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा नेपाल प्रहरीको विपद्सम्बन्धी विवरण प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरबाट समेत आठवटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सञ्चार उपकरणसमेत पठाइएको छ। भदौ १३ गते उत्तरगया र धुन्चेमा दुई टन खाद्य सामग्री पठाइएको तथा हेलिकप्टरमार्फत उद्धार सामग्रीसमेत पठाइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा हाल ३६ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ। हालसम्म हवाई इन्धनको खपत भने २९ हजार लिटर पुगेको छ।
बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारले नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ पठाइएको छ। यसैगरी १५ वटा स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विस्तृत विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।









