५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ आज आउँदै



अ+ अ-

काठमाडौं । चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार (आज) साँझ काठमाडौं आउँदै छन् । नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उहाँ आइतबार साँझ नेपाल आइपुग्नुहुनेछ, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने, ‘भ्रमणको सिलसिलामा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ताको मुख्य कार्यक्रम तय भएको छ ।’ चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरेका थिए । शनिबार पाकिस्तान भ्रमणमा गएका विदेशमन्त्री यी इस्लामावादबाट आइतबार साँझ सीधै काठमाडौं ओर्लिनेछन् ।

दक्षिणी छिमेकी भारतका विदेशमन्त्री नेपाल भ्रमण आएको तीन साता नपुग्दै उत्तरी छिमेकी चीनका विदेशमन्त्री नेपाल आउन लागेका हुन् । दुई साताअघि ४ भदौमा भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरले पनि नेपाल भ्रमण गरेका थिए । उनी दुई देश (नेपाल–भारत)का परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी भएका थिए ।

नेपालका समकक्षी ज्ञवालीसँग सोमबार भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी यीबीच सोमबार द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तामा नेपाल र चीनबीच सबै पक्षमा छलफल हुनेछ । नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा पुनः जोड दिनेछ । नेपाल र चीनबीच यसैबीचमा भएका सहमति र सम्झौता कार्यान्वयनका उपायबारे पनि छलफल हुने परराष्ट्र स्रोतले बतायो । विशेष गरी सिगात्से–केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, डिपिआर तयारीका लागि छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई चीनबाट भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । अनुभवी करिअर डिप्लोम्याट मानिने यी नेपालबारे लामो समयदेखि जानकार छन् । उनी मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ ।

सम्मानमा सोमबार रात्रिभोज
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुने जनाइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–चिनियाँ राष्ट्रपति आउनेमा आशावादी छौँ

परराष्ट्रमन्त्रीस्तरीय बैठकमा आर्थिक र विकास साझेदारीमा छलफल हुने
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनेमा आफू आशावादी भएको बताएका छन् । भ्रमण मिति तय नभइसके पनि चीनको उच्चस्तरीय नेतृत्वको नेपाल आगमनलाई परराष्ट्रमन्त्री ज्ञवालीले ‘उत्साहको विषय’का रूपमा अर्थ्याए ।

नेपाल र चीनबीच भोलि (सोमबार) दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय भेटवार्तालाई चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको पूर्वतयारीका रूपमा पनि विश्लेषण गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने सोमबारको बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीको सोमबारदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श हुने ज्ञवालीले जानकारी दिए । उनले दुई देशबीच विगतमा भएका सन्धि–सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने पनि दाबी गरे ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए । चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण हुन लागेको हो । विदेशमन्त्री वाङ चीनको राज्य परिषद्को सदस्यसमेत हुन् ।

चीनको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुन सक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचार–विमर्श हुने बताए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्बन्धमा मन्त्री ज्ञवालीले भने, ‘उहाँ (सी) ले भ्रमण गर्न यो उपयुक्त समय हो भन्ने हामीले जानकारी गराएका छौँ । चीनको उच्चस्तरीय नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हो, तर भ्रमणको मिति निर्धारण भएको छैन ।’ चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताए । यसअघि राष्ट्रपति विद्या भण्डारीले चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् भने राष्ट्रपति सीले सकारात्मक जवाफ दिएका थिए । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।