काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
सुवाको भोटेकोसी क्षेत्रमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बैठक बोलाउनुभएको हो।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
बाढीका कारण रसुवासहित प्रभावित क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बैठकले तत्कालीन राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा आर्थिक निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।








