११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव



अ+ अ-

काठमाडौं : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधवारको बिहान सामान्य कार्यदिन जस्तै थियो । बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए । तर ८ बज्न १४ मिनेट बाँकी रहँदा शुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो ।

अधिकृत गैरेकाअनुसार बिहान ८ः४६ बजेतिर अचानक उनको कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो । शुरुमा उनलाई भूकम्प आएको आभास भयो ।
ज्यान जोगाउन बाहिर निस्कने क्रममा उत्तरतर्फ (चीनतर्फ) नजर पर्दा उनी स्तब्ध भए ।

‘मैले उत्तरतिर हेर्दा सुनामी जस्तै मडारिएर आएको बाढी देखेँ । गत वर्षको बाढी खोलाको सतहभन्दा २० मिटर माथि थियो भने यसपालि बाढीको लेभल नदीको आधार सतहबाट करिब १०० मिटर माथि थियो ।’ उनले कहालीलाग्दो दृश्य सम्झिए ।

उनले बाढी देख्नेबित्तिकै सहकर्मीहरूलाई ‘बाढी आयो, भागौँ’ भन्दै शतर्क गराए । भाग्ने क्रममा १० सेकेण्डभित्रै पछाडि फर्केर हेर्दा पूरै क्षेत्र कुहिरो र धुलोले ढाकिएको थियो, केही देखिने अवस्था थिएन ।

टिमुरे बजारको नामनिसान मेटियो
बाढीको प्रकृति यति विध्वंशकारी थियो कि त्यसले टिमुरे बजारको अस्तित्व नै संकटमा पारिदिएको छ । गैरेकाअनुसार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा रहेका करिव २०० घरधुरीमध्ये ४० देखि ५० वटा पक्की घरहरू (४–५ तल्लासम्मका) पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भौतिक क्षतिको विवरण दिँदै उनले भने, ‘मुख्य भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, इलाका प्रहरी कार्यालय लगायतका सरकारी संरचनाहरू अहिले नामनिसान नहुने गरी बगेका छन् । पहाडको माथिल्लो भागमा रहेको सशस्त्र प्रहरीको बीओपी बाहेक तल्लो क्षेत्रका कुनै पनि संरचना बाँकी रहेनन् ।’
त्यहाँ रहेको एउटा विद्यालय समेत बाढीले सोत्तर पारेको उनले बताए ।

विपद्को समयमा टिमुरे र रसुवागढी क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति थियो । अधिकृत गैरेकाअनुसार उक्त समयमा भन्सार एजेन्ट, मजदुर, होटल व्यवसायी, रसुवागढी–स्याफ्रुबेँसी सडक खण्डका कामदार र मानसरोवर तीर्थयात्री गरी करिव २ हजार भन्दा बढी मानिस त्यस क्षेत्रमा रहेको अनुमान छ ।

‘४०० देखि ५०० को हाराहारीमा तीर्थयात्री र करिव १५० वटा मालवाहक कन्टेनर तथा इभी गाडीहरू त्यस क्षेत्रमा थिए ।’ उनले भने, ‘१०–१५ सेकेण्डको छोटो अवधिमा जसले २० मिटर जति उकालो उक्लन सके, उनीहरू मात्र बाँच्न सफल भए । बाँकी धेरै मानिस बेपत्ता छन् ।’

सूचनाको अभाव र चिनियाँ पक्षको अवस्था

विगतका वर्षहरूमा चिनियाँ पक्षले बाढीको पूर्वसूचना दिने गरेको भएपनि यसपटक कुनै जानकारी प्राप्त नभएको  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गैरेले बताए ।

‘यसपालि सूचनाभन्दा पहिला बाढी आइपुग्यो । चिनियाँ क्षेत्रमा रहेका गेट र संरचनाहरू समेत ध्वस्त भएकाले उनीहरू आफैँ पनि चकित परेको र सूचना दिन नभ्याएको देखिन्छ ।’ उनले स्पष्ट पारे ।

चीनतर्फ पनि ठूलो क्षति भएको र त्यहाँका कर्मचारीहरू समेत प्रभावित भएको उनको बुझाइ छ ।

नयाँ जीवनको अनुभूति

मृत्युको मुखबाट जोगिएर डाँडातिर उक्लिएका गैरे र उनको टोली पछि सुरक्षित स्थानको खोजीमा ३ किलोमिटर माथि खैरी पुगेको थियो । बाढीले भित्तामा ठक्कर खाएर फर्किएका कारण आफूहरू बाँच्न सफल भएको उनी बताउँछन् ।

दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशूली पु¥याइएका उनीहरू त्यहाँको प्राथमिक स्वास्थ्य जाँचपछि सोही दिन राति साढे ९ बजे काठमाडौं आइपुगेका थिए । काठमाडौं आइपुग्दा भन्सार विभागमा अर्थमन्त्री, अर्थसचिव र भन्सार महानिर्देशकले उनीहरूलाई स्वागत गर्दै ढाडस दिएका थिए ।

‘हिजोसम्म सँगै काम गरेका साथीहरू र देखेको बजार क्षणभरमै बिलायो । जिन्दगीको केही भरोसा रहेनछ, हामीले नयाँ जीवन पाएर फर्किएका छौँ ।’ उनले भावुक हुँदै भने ।

हाल बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी रहे पनि भौगोलिक विकटता र सडक सञ्जाल विच्छेद भएका कारण कठिनाइ भइरहेको छ । रसुवागढी क्षेत्रको यो भौतिक र मानवीय क्षति नेपालको भन्सार इतिहासकै सबैभन्दा दुःखद् घटना मध्येको एक बनेको छ । –न्युज एजेन्सी नेपाल