काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि साउदी अरब सरकारसँग सहयोगको अपिल गर्नुभएको छ।
मन्त्री यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा उहाँले रसुवामा बाढीले पुर्याएको ठूलो क्षतिबारे ध्यानाकर्षण गराउँदै तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको हो।
भेटमा मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै ठूलो विपद्का रूपमा पछिल्लो बाढीले ठूलो जनधनको क्षति पुर्याएको जानकारी दिनुभयो। बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले विपद्को यस कठिन घडीमा पीडितको उद्धार तथा राहतका लागि मानवीय सहयोग गर्न साउदी सरकारसमक्ष आग्रह गर्नुभयो।
उहाँले प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो।
भेटवार्तामा नेपाल र साउदी अरबबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो।









