काठमाडौं । रसुवाको रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।
राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। उनले नेपाल सरकार, नेपाली जनता तथा विपत्तिबाट प्रभावित सबैप्रति चीनको सहानुभूति रहेको बताएका छन्।
राजदूत माओमिङका अनुसार ग्यिरोङ–रसुवागढी सीमाक्षेत्रमा भएको प्राकृतिक विपत्तिबाट चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ। चीनतर्फ पनि उल्लेख्य क्षति भए पनि नेपाललाई तत्काल सहयोग उपलब्ध गराउन आपत्कालीन समन्वय गरिएको उनले जानकारी दिएका छन्।
उनले चीनले नेपालका लागि आपत्कालीन राहत सामग्री र नगद सहायता तत्काल समन्वय गरी उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न चीनले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“चीन कठिन समयमा नेपालसँग दृढतापूर्वक उभिएको छ,” राजदूत माओमिङले भनेका छन्।
उनले विपत्तिको सामना गर्न नेपाल र चीन मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै आपसी सहकार्यबाट कठिनाइ पार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
“हातेमालो गरेर अघि बढ्यौँ भने हामी यी कठिनाइहरू पार गर्दै आफ्ना सुन्दर घरहरू पुनर्निर्माण गर्न सफल हुनेछौँ,” उनले उल्लेख गरेका छन्।
रसुवाको भोटेकोशी तथा आसपासका नदी प्रणालीमा आएको भीषण बाढीपछि रसुवागढी–केरुङ नाका क्षेत्रसमेत प्रभावित भएको छ। विपत्तिपछि नेपालतर्फ खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयास तीव्र पारिएका छन् भने सीमापारि चीनतर्फ पनि क्षतिको व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य भइरहेको छ।









