१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता



अ+ अ-

काठमाडौँ। चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमपहिरोका कारण हिमताल फुट्दा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनतर्फ बहेको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।

इतिहासकै दुर्लभ र अकल्पनीय यो प्राकृतिक विपत्तिका कारण दर्जनौँ बस्तीहरू बगाएका छन् भने ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता भएका छन् ।

बुधवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले यो राष्ट्रिय सङ्कटको घडीमा सबै पक्ष एकजुट भएर उद्धार र राहतमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले यस घटनालाई इतिहासकै दुःखद् भन्दै पहिलो कर्तव्य नागरिकको जीवन रक्षा रहेको बताउनु भयो । एमालेका तर्फबाट स्वयंसेवकहरू उद्धारमा खटिसकेको जानकारी दिँदै उहाँले प्रतिपक्षको भुमिका सङ्कटमा सरकारलाई साथ दिने रहने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अझै पनि जोखिम कायम रहेकाले सीमावर्ती र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु हाम्रो प्राथमिकता हो । सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरी उद्धार र राहतमा तीव्रता दिनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले प्रधानमन्त्रीको निर्देशनमा २८ वटा हेलिकप्टर उद्धारका लागि परिचालन भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार सुरक्षा निकाय र प्रशासनिक संयन्त्रले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिरहेका छन् र आवास तथा राहतका लागि ‘क्लस्टर’ बनाएर काम शुरु गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जुम्लाका मात्रै करिव ८० जना मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो समय आलोचना गर्ने होइन, सरकारलाई साथ दिने हो । व्यवसायी, एनआरएन र आम नागरिकले आआफ्नो तर्फबाट भौतिक वा आर्थिक सहयोग गर्न जरुरी छ ।’

बाढीले जलविद्युत आयोजनाहरू, सरकारी कार्यालयहरू र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ । पर्यटकहरू र छिमेकी जिल्लाबाट गएका सवारीसाधनहरू समेत बेपत्ता भएको बताइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा जोखिम बढेको उल्लेख गर्दै चीन सरकारसँग पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) का लागि कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई वर्षअघि पनि यस्तै घटना भएको थियो । नदी प्रणालीमा अटोमेटिक अलार्म सिस्टम जडान गर्न ढिला भइसकेको छ । चीनसँग यस क्षेत्रमा सहकार्य गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ ।’

नेकपा (एमाले) का सांसद गुरु बरालले जलवायु परिवर्तनका कारण हिमतालहरू पग्लिने क्रम बढेको र भूकम्पीय जोखिमका कारण यस्ता विपत्ति आएको हुनसक्ने बताउनु भयो । उहाँले उत्तरतर्फका सबै हिमनदीहरूको अद्यावधिक सूचना राख्ने प्रणाली विकास गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अहिलेको समय प्रश्न गर्ने नभई संयम र विवेक प्रयोग गर्ने समय भएको बताउनु भयो । सरकारले १३ वटा हेलिकप्टर परिचालन गरेको र आपत्कालीन कोषबाट रकम निकासा गरेकोमा सकारात्मक प्रतिक्रिया दिँदै उहाँले सूचना आदानप्रदानमा देखिएको कमजोरीलाई आगामी दिनमा सुधार्नुपर्ने बताउनु भयो ।

विपत्तिमा परेकाहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भएका छन् ।

सरकारले घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि तत्काल योजना बनाउनुपर्ने माग राजनीतिक दलहरूले गरेका छन् । हालसम्म केही शवहरू फेला परेको र सनाखत हुने प्रक्रिया जारी रहेको सरकारी स्रोतले जनाएको छ। ।–न्युज एजेन्सी नेपाल