काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीपछि रसुवा भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। कार्यालयका अनुसार बाढीपछि कर्मचारीहरूको अवस्था बुझ्ने तथा खोजी र उद्धारको काम जारी रहेको छ।
रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् ।
त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्। बाँकी ३ जना करार तथा ज्यालादारी कर्मचारीको अवस्था पनि यकिन हुन सकेको छैन।
हालसम्म ११ जना स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
बाढीका कारण कार्यालय क्षेत्र तथा आसपासमा भएको क्षतिको विवरण संकलनसँगै कर्मचारीहरूको खोजी, उद्धार र सम्बन्धित निकायसँग समन्वयको काम भइरहेको छ।








