काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षतिको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीपछि सरोकारवालाले उच्च सतर्कता अपनाउन सरकार र नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेका छन्।
बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी विज्ञप्तिमा त्रिशूली नदी तथा यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।
सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरिएको छ।
नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै सुरक्षित र उच्च स्थानमा सर्न अपिल गरिएको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
आपत्कालीन अवस्था सिर्जना भएमा नेपाल प्रहरीको टोल फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, जोखिममा परेका नागरिकको उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रिय रूपमा खटिन पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।









