काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको हो ।
उहाँले सामान्य प्रकृतिका समस्या वा ऋण असुलीका विषयलाई बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोडेर उनीहरूलाई पदमा बस्न नमिल्ने व्यवस्था गर्नु असान्दर्भिक हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “साधारण प्रकृतिका समस्यालाई सञ्चालक समितिसँग जोड्ने र उनीहरूलाई बोर्डमा बस्न वा सीईओ हुन नपाउने व्यवस्था गर्नु न्यायोचित देखिँदैन । यस्ता प्रावधानले बैंकिङ क्षेत्रमा नेतृत्वको रिक्तता सिर्जना गर्ने र कार्यरत जनशक्तिमा मानसिक तनाव बढाउने जोखिम रहन्छ ।”
बैंकिङ क्षेत्रका सरोकारवालाले यस विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिँदै उहाँले बाफिया संशोधनमार्फत यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
समितिका अन्य सदस्यहरूबीच पनि यस विषयमा सामान्यतया एकरूपता रहेको उल्लेख गर्दै सांसद अधिकारीले बाफियाको प्रस्तावित संशोधनमा बैंकिङ क्षेत्रमा देखिएका यस्ता व्यावहारिक समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सुझाव दिनुभयो ।









