काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले वन्यजन्तु तथा छाडा चौपायाका कारण सिर्जित समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद भाटले वन्यजन्तु संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभएको हो ।
उहाँले बाघमा ट्रान्समिटर जडान गर्ने तथा हात्तीको आवतजावत ट्र्याक गर्नेजस्ता प्रविधिको प्रयोगले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
वन्यजन्तुले पुर्याएको धनजनको क्षतिका कारण जनतामा तीव्र आक्रोश रहेको र त्यसका कारण जनप्रतिनिधिहरूले समेत जनदबाब झेल्नुपरेको उहाँले बताउनुभयो । बाँदर, नीलगाई, बँदेल र दुम्सीजस्ता वन्यजन्तुबाट भइरहेको क्षतिसँगै देशभर चुनौतीका रूपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले विशेषगरी तराई क्षेत्रमा छाडा छोडिएका गाई–गोरुले किसानको धानबालीमा व्यापक क्षति पुर्याइरहेको बताउँदै यस्ता पशुको उचित संरक्षण तथा व्यवस्थापनलाई समितिको कार्यसूचीमा समावेश गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वन्यजन्तुलाई खेतीपातीमा क्षति पुर्याउनबाट रोक्न जंगलभित्रै उनीहरूको आहार व्यवस्थापन गर्नुपर्ने सुझावसमेत सांसद भाटले दिनुभयो । वन क्षेत्रमा वन्यजन्तुलाई उपयुक्त हुने फलफूल तथा बोटबिरुवा उत्पादन गर्न सके उनीहरू मानव बस्तीमा आउने क्रम घटाउन सकिने उहाँको तर्क छ ।
यस्तै, बाँदरलगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि किसानलाई ड्रयागन फ्रुटजस्ता काँडायुक्त वैकल्पिक बालीको खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । यस्ता वैकल्पिक खेती प्रणालीलाई सरकारले प्रवद्र्धन र आवश्यक सहयोग गर्नुपर्नेमा सांसद भाटले जोड दिनुभयो ।









