१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा चल्यो बिजुली बस, हालकै भाडादर कायम हुने



अ+ अ-

काठमाडौँः नेपालमै पहिलो पटक विद्युतीय बससेवा साेमबारदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो ।

रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ ।

बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ ।

विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ । उपप्रधानमन्त्री पोखरेलले बसमा बसेर प्रदर्शर्नीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहिदेगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गर्नुभएको थियो । यात्रापछि उहाँले बस आरामदायी रहेका र नेपालका लागि उपयुक्त रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणीय र आर्थिक दुबै हिसाबले बस उपयुक्त छन् ।” उहाँले राम्रो कामको शुरुवात गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताउनुभयो । सुन्दर यातायातले नामजस्तै सुन्दर काम गरेको उहाँको भनाइ छ ।

राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाटपछि हट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि चुनौती आउन सक्छन् तर तपाइँ हिम्मत नहारी अघि बढ्नुपर्छ ।” प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजनामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“विद्युत्को खपत हामीले यातायात, खाना पकाउने इन्धनलगायतका रुपमा प्रयोग बढाउँदै जान सक्छौँ ।”

नेपालमा वायरलेस इण्टरनेटका जन्मदाता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताउनुभयो ।

कम्पनीले अहिले दुई बसबाट शुरुवात गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यही वर्षभित्रमा ५० बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।

बस किन्ने तयारी गर्दै साझा यातायात

तीनै तहको सहकार्यमा साझा याताायतले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले रु तीन अर्बका र प्रदेश नं– ३ ले रु ३० करोडका साझाको शेयर खरीद गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले रु १० करोड बराबरको साझाको शेयर खरीद गरेका थिए । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताका किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ ।