६ भाद्र २०८३, शनिबार
,
Latest
महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला



अ+ अ-

अर्घाखाँची। कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ ।

डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।

राते मृग, चित्तल र बँदेलको सिकारका लागि तोकिएको कानुनी प्रक्रिया पूरा गरी जिल्ला सिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताउनुभयो । यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ १० गतेभित्र जिल्लास्थित डिभिजन वन कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

वन्यजन्तुबाट हुने तथा भइसकेको कृषि बाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० तथा प्रचलित कानुनमा तोकिएको व्यवस्थाअनुसार सिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा सिकार गर्न चाहने व्यक्तिले निर्धारित ढाँचामा निवेदन दिनुपर्ने जनाइएको छ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेस गर्नुपर्ने छ ।

वन्यजन्तु संरक्षणका दृष्टिले संवेदनशील मानिने सिकार गतिविधिलाई व्यवस्थित र नियमन गर्न सरकारले कानुनी रूपमा अनुज्ञापत्रको व्यवस्था गरेको वन कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । अनुमतिप्राप्त नगरी वन्यजन्तुको सिकार गर्नु गैरकानुनी मानिने भएकाले सिकारमा रुचि राख्ने व्यक्तिले सम्बन्धित निकायबाट आवश्यक अनुमति लिएरमात्रै गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

अर्घाखाँचीमा वन्यजन्तु तथा वन क्षेत्रको संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण पनि चुनौतीका रूपमा रहँदै आएको छ । विशेषगरी वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुले कृषि बालीमा क्षति पुर्याउने, पशुचौपायामा आक्रमण गर्ने, कहिलेकाहीँ मानवीय जोखिम निम्त्याउनेलगायत समस्या छन् । यस्तो अवस्थामा कानुनले तोकेको सीमाभित्र रहेर सिकार तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी गतिविधिलाई अघि बढाउने सरकारी नीति रहेको खड्काले उल्लेख गर्नुभयो ।

यसैबीच, डिभिजन वन कार्यालयले सिकार अनुज्ञापत्र वितरणको प्रक्रिया पारदर्शी र प्रचलित कानुनअनुसार हुने स्पष्ट पारेको छ । कार्यालयमा प्राप्त निवेदन तथा कागजातको आवश्यक जाँचपछि मात्रै सम्बन्धित व्यक्तिलाई अनुज्ञापत्र प्रदान गरिने कार्यालयका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।

सिकारका नाममा वन्यजन्तुको अवैध ओसारपसार, चोरीनिकासी वा गैरकानुनी गतिविधि हुन नदिन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायले निगरानी पनि बढाउने उहाँले बताउनुभयो । रासस