६ भाद्र २०८३, शनिबार
,
Latest
लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल



अ+ अ-

काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पुँजीबाद नै भएको बताउनुभएको हो ।

उहाँले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताउनु भयो ।

२०६२÷६३ को जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उहाँको भनाई छ । खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म नेकपा एमालेमा लामो समय बसेँ । नयाँ जनवादका निम्ति लड्दै आएँ । पाँचौँ महाधिवेशनमा आइपुग्दा कमरेड मदन भण्डारीले नयाँ जनवाद भनेको एक दलीय जनवाद हो, बहुदलीय जनवाद अपनाउनुपर्छ’ भनेर उहाँले बहुदलीय जनवादी कार्यक्रम ल्याउनुभयो । त्यसवेला पनि मैले यसका विरुद्ध भिन्न मत राखेर मैले सङ्घर्ष गरेँ । त्यतिवेला मलाई के लागेको थियो भने यो जनवादी क्रान्तिको कार्यक्रमको रूपमा ल्याइएको छ, अब ६२–६३ मा त्यो क्रान्ति सम्पन्न भयो । अब समाजवादी क्रान्तिको क्रममा यस्तो कुरा नआउला भनेको, त्यसपछि पनि बहुदलीय जनवाद, हेर्नुस् न अहिले एमाले । बहुदलीय जनवाद, बहुदलीय जनवाद भनेर गए केपी ओली, अहिले त्यो बेहाल छ, त्यो पार्टी । अहिले पनि हामीभन्दा ठूलै होला एमाले तर ठूलो भएपनि विष्फोटक अवस्थामा पुगिरहेको छ, त्यो पार्टीको नेतृत्व त्यही अवस्थामा रहि रहे यिनै विचारले रहिरह्यो भने त्यो पार्टी ध्वस्त हुन्छ । त्यसो हुनाले यो बहुदलीय जनवाद भनेको पुँजीवाद हो । बहुदलीय जनवाद भनेको अर्को शब्दमा पुँजीवादी जनवाद हो । हामीले जाने भनेको त वैज्ञानिक समाजवाद भनेको समाजवादी लोकतन्त्र हो । कम्युनिष्टहरू भनेको नै समाजवादी लोकतन्त्रका पक्षधरहरू हुन् । जतिवेला हामीले समाजवादी लोकतन्त्र प्राप्त गर्छौँ, त्यो लोकतन्त्रको पनि सर्वोच्च रूप हो । त्यहाँभन्दा उँभो कुनै लोकतन्त्र हुँदैन ।’

उहाँले कम्युनिष्टहरुको समाजवादको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्र भएको बताउनु भयो । विद्यमान लोकतान्त्रिक व्यवस्थालाई पुँजीवादी लोकतन्त्रको निरन्तरता भएकोले यसलाई परिवर्तन गरेर समाजवादी लोकतन्त्र स्थापना गर्न लाग्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल