५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ



अ+ अ-

बुटवल।  नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापनालाई पुनः निरन्तरता दिने भएको छ ।

अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रु २५ हजार नगदसहित पुरस्कृत गर्नेगरी कोष स्थापना गर्नुभएको छ । सापकोटाले प्रत्येक पाँच वर्षका लागि पुरस्कारका लागि हुने एकमुष्ट रकम रु एक लाख २५ हजार जम्मा गरिदिनुभएको हो ।

सापकोटाकै सहयोगमा विसं २०७३ देखि निरन्तर वितरण हुँदै आएको उक्त पुरस्कारका लागि स्थापना गरिएको कोषबाट प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गर्न सम्भव नभएपछि केही समय रोकिएको थियो ।

नेपाल पत्रकार महासङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका सापकोटा र पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उक्त पुरस्कारलाई पुनः निरन्तरता दिनेगरी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

पुरस्कार कोषका लागि अग्रज पत्रकार सापकोटाले पाँच वर्षको रकम एकमुष्ट रु एक लाख २५ हजार पत्रकार महासङ्घको संयुक्त खातामा जम्मा गर्नेगरी चेक हस्तान्तरण गर्नुभएको थियो ।

उक्त पुरस्कार हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर वातावरण, जलवायु परिवर्तन र पर्यावरणको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ ।

विश्वको वातावरण मानवीय जीवनका लागि चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पत्रकारहरूले वातावरण, जलवायु र पर्यावरणको मुद्दा सशक्त रूपमा उठाउन प्रोत्साहन गर्न वातावरण पत्रकारिता पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक सापकोटाले बताउनुभयो ।

उक्त पुरस्कार प्रत्येक वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्मको रिर्पोट, समाचार, फिचरलाई मूल्याङ्कन गरी वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासङ्घका सचिव सिपी खनालले जानकारी दिनुभयो ।

पत्रकार महासङ्घले विसं २०७३ देखि वितरण गर्दै आएको उक्त पुरस्कार अहिलेसम्म शेरबहादुर केसी, छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टिआर शर्मा, तेजेन्द्र केसी र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन् ।

विसं २०२९ देखि पत्रकारिता सुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा विसं २०३१ देखि २०६० सम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन गर्नुभएको थियो । विंस २०४७ देखि वातावरण बचाऊ आन्दोलनको अध्यक्ष भई काम गर्नुभएका सापकोटाको अगुवाइमा स्थापना भएको रुपन्देही एफएम सञ्चालन छ ।