४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन



अ+ अ-

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाढी, पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबैमा आह्वान गरेको छ। गाउँपालिकाले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको हो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार गत असार र साउनमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट गाउँपालिका क्षेत्रमा सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीय नागरिकको जनजीवनमा ठूलो क्षति पुगेको छ।

अध्यक्ष केसीले पालिकाको स्रोतसाधनले मात्र विपद्बाट भएको क्षति व्यवस्थापन गर्न कठिन भएकाले स्वदेश तथा विदेशमा रहेका व्यक्ति, सङ्घसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई कोषमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

गाउँपालिकाले प्राप्त सहयोग रकम विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनामा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। मोदी खोलामा आएको बाढीले बिरेठाँटीमा करिब १०० मिटर पक्की कालोपत्र सडक बगाएपछि गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। बिरेठाँटी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको गाउँपालिकाले जनाएको छ।

चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।यसैगरी अन्नपूर्ण–११ झिनुस्थित मोदी खोला किनारमा रहेको प्रसिद्ध तातोपानी कुण्डसमेत बाढीले बगाएको छ। खोलाको किनारमा सिमेन्ट, ढुङ्गा र बालुवाबाट निर्माण गरिएका तीनवटा तातोपानी कुण्ड पूर्णरूपमा बगेर क्षतिग्रस्त भएका छन्।

बाढीले केही होटल, मन्दिर तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो।

बाढीबाट प्रभावित बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो। बिरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत अवरुद्ध भएपछि स्थानीयवासीसँगै पर्यटन क्षेत्रसमेत प्रभावित भएको छ।

गाउँपालिकाले विपद्बाट प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ। विपद्को अवस्थामा प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबैको सहकार्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।