काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको आरोप लगाउनुभएको छ। उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै विपद् व्यवस्थापन, सुकुम्बासी समस्या तथा प्रेस स्वतन्त्रताको विषयमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको हो।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले देशभर बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहे पनि सरकार गम्भीर बन्न नसकेको बताउनुभयो।
उहाँका अनुसार २०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ वटा विपद्का घटना भएका छन्। ती घटनामा २४७ जनाको मृत्यु भएको, १५ जना बेपत्ता रहेको र १ हजार ४६३ जना घाइते भएको उहाँले जानकारी दिनुभयो। सो अवधिमा ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएको उहाँको भनाइ छ।
विपद्को भयावह अवस्थाप्रति सरकार गम्भीर नबनेको टिप्पणी गर्दै सांसद केरुङले नागरिकले ज्यान गुमाइरहेका र घरबस्ती बगिरहेका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो।
उहाँले सरकार विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने समयमा सत्ताको खिचातानी र सचिवालयको आन्तरिक काममा व्यस्त रहेको दाबी गर्नुभयो। जाजरकोट, बाजुरा, रोल्पालगायत जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका समस्या तत्काल सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो।
सांसद केरुङले सुकुम्बासी बस्तीका समस्याप्रति पनि राज्य संवेदनशील नभएको आरोप लगाउनुभयो। भक्तपुरस्थित होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनाले सरकारको संवेदनहीनता उजागर गरेको उहाँले बताउनुभयो।
त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारबाट हस्तक्षेप भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। पत्रकारलाई धम्क्याउने, सिंहदरबार प्रवेशमा कडाइ गर्ने तथा सञ्चार गृहमा तोडफोडजस्ता घटनाले लोकतान्त्रिक व्यवस्थाको उपहास गरेको उहाँको आरोप थियो।
सरकारले नागरिकका समस्या र लोकतान्त्रिक अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसद केरुङले जोड दिनुभयो।











