२ भाद्र २०८३, मंगलवार
,
Latest
इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक दियालो बङ्गलाबाट २४ लाख राजश्व संकलन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल



अ+ अ-

भोजपुर। भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ ।

मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउन मुस्किल भएको हो ।

विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेको किसानको भनाइ छ । विशेषगरी तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढी देखिएपछि किसानलाई अन्नबाली जोगाउन समस्या भएको छ ।

भोजपुरका नौवटै स्थानीय तहका अधिकांश भू–भागमा बाँदरको समस्या देखिएको छ । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको हुल पस्ने र केही समयमै अन्नबाली सखाप बनाउने गरेको किसानको दुखेसो छ ।

भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतले बाँदर नियन्त्रणका लागि तत्कालीनसँगै दीर्घकालीन उपाय खोज्नुपर्ने बताउनुभयो । “वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिन्छन्”, उहाँले भन्नुभयो, “खेतबारीमा गएर दिनभरि कुर्नुपर्ने अवस्था छ । यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ ।”

बाँदरले मकैबालीसँगै तरकारी तथा बगैँचाका फलफूलमा क्षति पु¥याउन थालेपछि किसान थप समस्यामा परेका छन् । बालीनाली जोगाउन किसानले खेतबारीमा स–साना टहरा बनाएर नियमित रूपमा निगरानी गर्ने गरेका छन् । परिवारका दुईदेखि तीन जनासम्म दैनिक रूपमा खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था रहेको किसानको भनाइ छ ।

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह तथा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताउनुभयो । “बाँदरको समस्या धेरै ठाउँमा देखिएको छ”, प्रमुख मियाले भन्नुभयो, “तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरणलगायत उपाय अपनाइएको छ । तर समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक छ ।”

बाँदरको बढ्दो उपद्रोका कारण कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको स्थानीय किसान बताउँछन् । खेतीपातीमा निर्भर परिवारलाई बाँदरको समस्या आर्थिकसँगै सामाजिक चुनौतीसमेत बन्दै गएको उनीहरूको भनाइ छ ।

किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह र सम्बन्धित निकायले समन्वय गरेर दीर्घकालीन योजना बनाउन माग गरेका छन् । अन्नबाली तथा फलफूलमा हुने क्षति न्यूनीकरणसँगै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्यले समस्या समाधानमा गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ । रासस