२ भाद्र २०८३, मंगलवार
,
Latest
इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक दियालो बङ्गलाबाट २४ लाख राजश्व संकलन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण



अ+ अ-

सुनसरी। भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।

मण्डलले भन्नुभयो, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”

यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आउनु भएको छ । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उहाँको भनाइ छ ।

जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।

देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । उहाँ बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्नुहुन्छ । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाउनुभयो । “आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उहाँले एक जना मजदुरलाई ज्यालामा काममा लगाउनु भएको छ । उहाँले भन्नुभयो, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।” जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन ।

विगतमा नेपाली जुट उद्योगलाई आवश्यकपर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।

किसानलाई जुटखेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उहाँले बताउनुभयो । “किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उहाँले भन्नुभयो ।

जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार  आर्थिक वर्ष २०८१/८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२÷८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।

जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । रासस