काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै नवौं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए। उनका अनुसार रक्तदानले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण गर्न, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्याउन तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत दिन सहयोग पुग्नेछ।
राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) सँग सहकार्य सम्झौता (एमओयू) गरेको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई संस्थागत गरेको बताए।
‘न्यानो नानी’ समयअगावै जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम प्रदान गर्न प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच सीमित भएका क्षेत्रमा यसको उपयोग महत्वपूर्ण हुने कम्पनीले जनाएको छ।
सुदूरपश्चिम र कर्णालीका स्वास्थ्य संस्थालाई १० उपकरण
सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्ने भएको छ।
भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा न्यून पहुँचका कारण दुर्गम क्षेत्रमा नवजात शिशुले भोग्दै आएको स्वास्थ्यसम्बन्धी चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ।
यी उपकरण सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा आवश्यक स्थानमा जडान गरिनेछन्। यसबाट समयअगावै वा कम तौल भएका नवजात शिशुको उपचारमा सहजता हुनुका साथै नवजात शिशुको मृत्युदर घटाउन र आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीईओ खड्काका अनुसार कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत कार्यक्रम सञ्चालन गरेको हो। कम्पनीले यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना बनाएको उनले बताए।
ग्राहकको वित्तीय सुरक्षामा जोड
आइएमई लाइफले जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्दै बीमा सुविधामार्फत ग्राहकको वित्तीय सुरक्षालाई बलियो बनाउने र मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित आफ्नो सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
नौ वर्षको यात्रामा सर्वसुलभ बीमा पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा ग्राहककेन्द्रित समाधानमार्फत विश्वास आर्जन गरेको कम्पनीको दाबी छ। देशभर विस्तार भएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत सर्वसाधारणलाई गुणस्तरीय जीवन बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ।










