१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै



अ+ अ-

उच्च हिमाली भेगमा लेक लागेर ज्यान गुमाउने मानिसको संख्या बर्सेनि बढिरहेको छ, त्यसमा पनि युवाको संख्या उच्च छ ।

जुम्लाकी आङ्मु बुढा (२४) लाई गत जेठमा यार्सागुम्बा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित फूलबारी पाटन पुगेकी थिइन् । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइको त्यही पाटनमा उनलाई लेक लाग्यो । उपचारका लागि करिब एक दिन टाढा पर्ने स्वास्थ्य संस्थातर्फ लगियो, तर बाटामै उनको मृत्यु भयो ।features-1719398032.png

जुम्लाकै चन्द्रजंग हमाल (३३) ले गत १४ चैतमा ताप्लेजुङको फक्ताङलुङ–६ स्थित लोनाक क्षेत्रमा लेक लागेर ज्यान गुमाए । समृद्ध पहाड संस्थामा योजना अधिकृत रहेका हमाल कामको सिलसिलामा ४ हजार ६ सय मिटर उचाइको लोनाक क्षेत्र पुगेका थिए ।

एउटै जिल्लाका बुढा र हमाल फरक उद्देश्यसाथ फरक–फरक उच्च हिमाली क्षेत्र पुगेका थिए । उनीहरू दुवै जना सक्रिय उमेर समूहका थिए । उनीहरूको ज्यान जानुको कारण भने एउटै बन्यो– लेक लाग्नु ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक केलाउने हो नेपालको उच्च हिमाली भेगमा लेक लागेर ज्यान गुमाउने मानिसको संख्या बर्सेनि बढिरहेको देखिन्छ । यो वर्षको वैशाख १ यता असार २५ गतेसम्मको करिब तीन महिनामै देशभर लेक लाग्ने ५५ घटना भएको अभिलेख केन्द्रसँग छ । केन्द्रका अनुसार ती घटनामा २१ जनाको मृत्यु भयो । यो वर्ष लेक लागेर ज्यान गुमाएकामध्ये सबैजसो युवा छन् । यस बीचमाा तीन ज्येष्ठ नागरिक र एक बालिकाको पनि मृत्यु भएको छ ।

लेक लागेका घटनासम्बन्धी तथ्यांकले देशभरको वास्तविक संख्या भने देखाउँदैनन् । सामान्य लक्षण देखिएपछि यात्रा रोकेर आराम गर्ने, तल झर्ने वा स्थानीय स्तरमै उपचार गरेर निको हुने व्यक्तिहरू औपचारिक विपद् तथ्यांकमा नसमेटिन सक्छन् ।

युवा नै किन ?

लेक लागेर मृत्यु हुनेको सूचीमा वृद्ध वा दीर्घरोगीभन्दा युवा अगाडि देखिने गरेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार यो वर्षको असार २५ गतेसम्ममा मृत्यु भएका २१ जनामध्ये १५ युवा अर्थात् १८ देखि ३५ वर्षसम्मका छन् । तीन ज्येष्ठ नागरिक र एक बालिकाले पनि यस बीचमा लेक लागेर ज्यान गुमाए ।

२०८२ सालमा लेक लागेर ३४ पुरुष र ७ महिलासहित ४१ जनाको मृत्यु भएकोमा ७ जना ज्येष्ठ नागरिकसहित थिए । २०८१ मा लेक लागेर ज्यान गुमाएका २५ जनामा पुरुष २१ र महिला ४ जना छन् । २०८० मा लेक लागेर १५ जनाको मृत्यु भएको थियो । तिनमा पुरुष १० र महिला ५ थिए ।

पहिले वृद्ध, दीर्घरोगी वा कमजोर शारीरिक अवस्थाका मानिसका लागि लेक लाग्नु जोखिम मानिन्थ्यो । तर अहिले मृत्युको सूचीमा सबैभन्दा अगाडि छन्– शारीरिक रूपमा सक्षम, काम गर्ने उमेरका र आत्मविश्वासले भरिएका युवा ।  मृतकहरूको विवरण हेर्दा हिमाली क्षेत्रमा काम गर्ने, यार्सा संकलन गर्ने, पदयात्रा गर्ने र धार्मिक यात्रामा निस्कने सक्रिय उमेर समूह नै सबैभन्दा बढी जोखिममा परेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार लेक लाग्ने जोखिम उमेरले मात्र निर्धारण गर्दैन । “वृद्धवृद्धामा मस्तिष्क र खोपडीबीच केही खाली स्थान रहने भएकाले सुन्निने अवस्थाको असर तुलनात्मक रूपमा कम हुन सक्छ,” उनले भने, “युवामा त्यो स्थान कम हुने भएकाले जटिलता छिटो देखिन सक्छ ।”

डा. प्रकाश ठूलो समस्या व्यवहारलाई मान्छन् । “आफू सक्षम छु भन्ने आत्मविश्वासमा अधिकांश युवा एकै दिन धेरै उचाइ पार गर्न खोज्छन् । शरीरले दिएको प्रारम्भिक चेतावनीलाई बेवास्ता गर्छन् र यात्रा रोक्न चाहँदैनन्,” उनले थपे, “यही प्रवृत्तिले सामान्य लेकलाई घातक बनाउन सक्छ ।”

जोखिममा जो पनि 

लेक लाग्ने जोखिमलाई अझै पनि धेरैले पदयात्रा वा हिमाल आरोहण गर्ने विदेशी पर्यटकसँग मात्र जोड्छन् । तर विभिन्न घटनाले त्यो बुझाइ गलत हो भन्ने देखाइसकेका छन् । जस्तो– जुम्लाकी मञ्जली रोकाया (१७)ले केही महिनाअघि कामका सिलसिलामा डोल्पाको काङ्लापास पुग्दा लेक लागेर ज्यान गुमाइन् ।

भारतका मुकेशकुमार सिंह (५१) मुस्ताङको मुक्तिनाथ दर्शनका लागि गत वैशाखमा पुगेका थिए । मुक्तिनाथ मन्दिरतर्फ जान होटलबाट निस्कने तयारीकै क्रममा उनी अचानक बिरामी परे । श्वासप्रश्वासमा समस्या बढेपछि उपचारमा लगिए पनि उनको ज्यान जोगिएन ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ का गोपीराम गाहा (७५) मुक्तिनाथ दर्शन तथा कागबेनीमा पितृश्राद्ध गर्न जाने क्रममा वैशाख १३, २०८२ मा बिरामी परे । म्याग्दी पार गरेर मुस्ताङको मार्फा पुगेपछि उनलाई लेक लागेका लक्षण देखिएका थिए । उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पताल लगियो तर उनी बाँचेनन् ।

यसले स्पष्ट संकेत गर्छ– लेक लाग्ने समस्या हिमाल आरोही वा विदेशी पर्यटकमा मात्र सीमित छैन । पछिल्लो समय रोजगारी, अध्ययन–अनुसन्धान, घुमफिरका लागि उच्च हिमाली क्षेत्रमा जाने क्रम बढ्दो छ । यार्सागुम्बा संकलनका लागि पनि मानिस बढी उचाइका क्षेत्रमा पुग्ने गरेका छन् । उनीहरू सबै लेक लाग्ने समस्याको जोखिममा छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा लेक लागेर अन्नपूर्ण क्षेत्रमा मृत्यु भएका २५ जनामध्ये १२ नेपाली र ९ भारतीय थिए । मेक्सिको, जापान, सिंगापुर र स्पेनका एक–एक जना थिए ।

जति हतार, उति जोखिम

उचाइ बढ्दै जाँदा अक्सिजनको मात्रा कम हुँदै जान्छ । बढी उचाइमा पुग्दा शरीरले तालमेल मिलाउन नसकी अक्सिजनको कमी भएर देखिने शारीरिक समस्या नै लेक लाग्नु हो । अर्थात् बढी उचाइमा जाँदा बदलिँदो वातावरणसँग शरीरलाई घुलमिल हुने समय नदिँदा लेक लाग्ने गर्छ ।

धेरै आन्तरिक तथा विदेशी पर्यटक गाडीबाट छोटो समयमै उच्च हिमाली क्षेत्रमा पुग्ने, पर्याप्त आराम नगर्ने र शरीरले दिएका प्रारम्भिक संकेतलाई सामान्य ठान्ने प्रवृत्तिका कारण ज्यान जोखिममा पर्छ ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता डा. प्रकाशका अनुसार लेक लाग्ने जोखिम २५ सय मिटर उचाइभन्दा माथि गएपछि बढ्दै जान्छ । कतिपयलाई योभन्दा कम उचाइमा पनि समस्या देखिन सक्छ । त्यसैले बढी उचाइमा क्रमिक रूपमा उक्लिनु र शरीरलाई अनुकूलनका लागि पर्याप्त समय दिनु महत्त्वपूर्ण हुने उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय पर्वतीय चिकित्सा दिशानिर्देशले तीन हजार मिटरभन्दा माथि पुगेपछि रात बिताउने उचाइ दैनिक पाँच सय मिटरभन्दा बढी नबढाउन र प्रत्येक तीन–चार दिनमा एक दिन आराम गर्न सुझाव दिन्छ ।

Everest-Region-NGSD-NIMJN-1786936535.jpg
सगरमाथा पदयात्रा मार्गबाट देखिएको हिमाल  । यस्ता दृष्य अवलोकनका लागि पर्यटकहरू उच्च हिमाली क्षेत्रमा पुग्छन् । तस्बिर : रजनीश भण्डारी/नेशनल जियोग्राफिक सोसाइटी 

डा. प्रकाशका अनुसार टाउको दुख्ने, वाकवाकी लाग्ने, हिँडाइ असन्तुलित हुने, अत्यधिक थकान महसुस हुने वा सास फेर्न गाह्रो हुनेजस्ता प्रारम्भिक लक्षण देखिनेबित्तिकै यात्रा रोक्नुपर्छ । “लक्षण बढ्दै गए तीन सयदेखि एक हजार मिटरसम्म तल झर्नु नै सबैभन्दा प्रभावकारी उपचार हो,” उनले भने ।

अनुभवी आरोहीहरू पनि छिटै गन्तव्य पुग्ने हतारले जोखिम बढाउने बताउँछन् । उनीहरूका अनुसार पहिलेजस्तो बिस्तारै उचाइ चढ्ने अभ्यास घट्दै गएको छ, छोटो समयमै धेरै दूरी पार गर्ने प्रवृत्ति बढेको छ । शरीरले अनुकूल हुन खोजिरहेकै बेला मानिसले आफूलाई अझ माथि धकेलिरहेका हुन्छन् ।

२० पटक सगरमाथा आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पाका अनुसार आफूले चढ्न लागेको हिमाल वा पदमार्गबारे पर्याप्त जानकारी नलिई यात्रा सुरु गर्नु नै धेरै दुर्घटनाको मूल कारण हो । कुन मार्गमा कति दिन लाग्छ, कहाँ विश्राम गर्नुपर्छ, कस्तो स्वास्थ्य सामग्री साथमा राख्ने, गाइड आवश्यक पर्छ कि पर्दैन, आफ्नो शारीरिक अवस्था त्यस यात्राका लागि उपयुक्त छ कि छैन भन्ने विषयमा ध्यान नदिई यात्रा सुरु गर्नेहरू बढिरहेका छन् । उनी भन्छन्, “हिमालले शारीरिक रूपमा कमजोरलाई भन्दा लापरबाहीलाई बढी सजाय दिन्छ ।”

तीन पटक सगरमाथाको शिखर पुगेकी तथा आठ हजार मिटरभन्दा माथिका आठ हिमाल आरोहणको अनुभव बटुलेकी पूर्णिमा श्रेष्ठ पनि हतारमा यात्रा गर्ने प्रवृत्तिलाई सबैभन्दा ठूलो चुनौती मान्छिन् । उनी पनि पाँच–छ दिन लगाएर पार गर्नुपर्ने पदमार्ग तीन–चार दिनमै सक्न खोज्ने, गाडी पुगेको स्थानबाट विश्राम नगरी तुरुन्तै हिँड्ने, मौसम, औषधी र खानपानको तयारी नगर्ने तथा गाइडबिना एक्लै यात्रा गर्ने प्रवृत्ति बढेको बताउँछिन् । “हिमाल चढ्ने उत्साहभन्दा पहिले त्यसलाई बुझ्न र आवश्यक तयारी गर्न आवश्यक हुन्छ,” उनी भन्छिन्, “अनि मात्र ज्यान सुरक्षित रहन सक्छ ।”

लेक लागे तत्काल उद्धारको विकल्प छैन 

चिकित्सक र उद्धारकर्मीका अनुसार लेक लागेका बिरामीका लागि समय एकदमै महत्त्वपूर्ण हुन्छ । सुरुमा सामान्य देखिएको अवस्था पनि उपचार ढिलो हुँदा जटिल बन्दै जान्छ ।

पर्यटकको चहलपहल बढी हुने उच्च हिमाली क्षेत्र सबैतिर अस्पताल वा बलियो पूर्वाधार भएका स्वास्थ्य चौकी छैनन् । धेरै बिरामी त अस्पताल पुग्नुअघि नै गम्भीर बन्छन् वा ज्यान नै जान सक्छ । त्यसैले उच्च हिमाली क्षेत्रमा लेक लाग्दा जतिसक्दो छिटो कम उचाइमा झर्न चिकित्सक र उद्धारकर्मीहरू सुझाव दिन्छन् ।

तत्काल कम उचाइमा झर्न सम्भव नभए हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने हुन सक्छ । तर मौसम प्रतिकूल हुँदा हेलिकोप्टर नउड्न सक्छ । त्यसैले उच्च हिमाली क्षेत्रमा यस्ता बिरामीको उद्धार ठूलो चुनौती बनेको चिकित्सक र उद्धारकर्मी बताउँछन् ।

उद्धारको पर्खाइमा रहँदा–रहँदै ताप्लेजुङको लोनाक क्षेत्रमा चन्द्रजंग हमालले ज्यान गुमाएका थिए । गत चैत ८ मा लोनाक क्षेत्र लागेका हमालले १४ गते साँझ ७ बजेतिर जुम्लामा रहेकी श्रीमतीसँग भिडियो कलमा कुरा गरेका थिए ।

श्रीमान्को अनुहार र ओठ निलो देखेपछि श्रीमती टीका पठाईले ‘के भयो ?’ भनेर सोधेकी थिइन् । हमालले ‘सास फेर्न गाह्रो भइरहेको छ’ भन्ने जवाफ दिएका थिए । एक महिनाकी सुत्केरी श्रीमतीले चिन्ता मानेपछि उनले ‘तनाव नलिनू, हेलिकोप्टर आउँछ, भोलि फर्कन्छौँ, ठीक हुन्छ’ भनेका थिए । टीकाले बिहान सबेरैदेखि श्रीमान्लाई फोन गर्दा उठेन, ८ बजेतिर एक जनाले फोन उठाए र सुनाए, ‘हामीले बचाउन सकेनौँ ।’

समृद्ध पहाडका प्रोजेक्ट अपरेसन म्यानेजर सन्तोष गौतमका अनुसार मौसमका कारण उद्धारमा ढिलाइ हुँदा हमाललाई बचाउन नसकिएको हो । “समयमै हेलिकोप्टर पुगेको भए बचाउन सकिन्थ्यो,” उनले भने, “राति नै उहाँको मृत्यु भयो, बिहान मात्र हेलिकोप्टर आइपुग्यो । बिरामी लैजान आएको हेलिकोप्टरले शव लग्यो ।”

आफू सक्षम छु भन्ने आत्मविश्वासमा अधिकांश युवा एकै दिन धेरै उचाइ पार गर्न खोज्छन् । शरीरले दिएको प्रारम्भिक चेतावनीलाई बेवास्ता गर्छन् र यात्रा रोक्न चाहँदैनन् । यही प्रवृत्तिले सामान्य लेक घातक बन्न सक्छ ।

– डा. प्रकाश बुढाथोकी, पूर्वप्रवक्ता, स्वास्थ्य मन्त्रालय

डोल्पाको फूलबारी पाटनबाट आङ्मु बुढाको स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । डोल्पाको काङ्लापासमा लेक लागेकी मञ्जली रोकायालाई स्वास्थ्य चौकी पुर्‍याउनै ढिला भयो । चार–पाँच दिन पैदल दूरी पार गरेर स्वास्थ्य चौकी त पुर्‍याइयो, तर जीवन जोगिन सकेन । यी घटनाले हिमालमा उपचारको घडी अस्पतालबाट होइन, घटना भएको स्थानबाटै चल्न सुरु हुन्छ भन्ने देखाउँछन् ।

उद्धारमा खटिने हेलिकोप्टर कम्पनी सिम्रिक एयरका म्यानेजर मुरली जोशीका अनुसार लेक लागेका बिरामीको ज्यान बचाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष समयमै उद्धार हो । “हामीलाई सूचना आएको करिब एक घण्टाभित्र पुगेर बिरामीको उद्धार गर्न सकियो भने बचाउन सकिन्छ,” उनले भने । तर हिमाली क्षेत्रमा खराब मौसम, बादल र दृश्यता कमजोर हुँदा हेलिकोप्टर उडाउन वा अवतरण गर्न नसकिने भएकाले उद्धारमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।

म्यानेजर मुरलीका अनुसार यात्राका क्रममा सुरुआती लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्तिले पनि जोखिम बढाइरहेको छ । “दिनभर सामान्यजस्तो लागे पनि रात पर्दै जाँदा बिरामीको अवस्था एक्कासि गम्भीर हुन सक्छ । हामी राति उडान गर्न सक्दैनौँ । कतिपय अवस्थामा बिहानसम्म कुर्दा बिरामीको मृत्यु भइसकेको हुन्छ । त्यसपछि उद्धार होइन, शव ल्याउनुपर्ने अवस्था आउँछ,” उनले भने ।

मौसमका कारण तत्काल अवतरण गर्न नसकिने एउटा अवस्था रहे पनि हेलिकोप्टर टोली उद्धारका लागि तम्तयार रहने र नागरिक उड्डयन प्राधिकरण तथा गृह मन्त्रालयको अनुमति पाएलगत्तै उडान गरिने मुरलीले बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य लेक लाग्ने घटनालाई व्यक्तिगत लापरबाहीको मात्र परिणाम मान्दैनन् । उनका अनुसार अधिकांश उच्च हिमाली क्षेत्रमा सामान्य जिल्ला अस्पताल मात्र छन्, विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजनको सुविधा छैन ।

पर्यटन प्रचार धेरै, सुरक्षा प्रबन्ध कम

हिमाली क्षेत्रमा पर्यटकको संख्या बढ्दै गर्दा उनीहरूको सुरक्षा प्रबन्ध पनि त्यहीअनुसार हुन सकेको छ त ? यो प्रश्न अहिले सबैभन्दा गम्भीर बनेको छ । लेक लागेर ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहँदा उच्च हिमाली क्षेत्रमा आइपर्न सक्ने स्वास्थ्य समस्याबारे सचेतना फैलाउन सरकारको पर्याप्त ध्यान पुगेको देखिँदैन ।

पर्यटकीय चहलपहल बढी हुने स्थानमा पर्याप्त औषधी र भरपर्दो जनशक्तिसहित स्वास्थ्य केन्द्रहरू स्थापना गर्न ढिला भइरहेको छ । उद्धार संयन्त्रहरू अझै पर्याप्त हुन सकेका छैनन् ।

टान गण्डकीका अध्यक्ष कृष्ण गाइडबिना एक्लै यात्रा गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको बताउँछन् । अर्कातिर नेपालले पर्यटन प्रवर्धनलाई प्राथमिकता दिए पनि पर्यटकको सुरक्षामा त्यही स्तरको लगानी र तयारी गर्न नसकेको उनको भनाइ छ ।

उनी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन हुन नसक्दा यात्रुको सुरक्षा र राज्यको निगरानीमा दुवै कमजोर बनेको बताउँछन् । “सरकारले लागू गरेको यो प्रणाली रोकिएपछि सुरक्षित पदयात्राको मापदण्ड पालना कमजोर बनेको छ,” टान गण्डकीका अध्यक्ष कृष्णले भने, “पर्यटक कहाँ पुगे, कस्तो अवस्थामा छन् र आपत्कालीन अवस्थामा कसरी उद्धार गर्ने भन्ने आधारभूत सूचना व्यवस्थापनसमेत प्रभावकारी हुन सकेको छैन ।”

नेपालको उच्च हिमाली भेगमा लेक लाग्दा समयमा उद्धार र उपचार हुन नसकेर विदेशी पर्यटकको मृत्यु हुनु मुलुकको पर्यटन छविका लागि गम्भीर चिन्ताको विषय बनेको पनि आचार्यले बताए ।

विशेषज्ञहरूका अनुसार लेक लागेर हुने अधिकांश मृत्यु रोक्न सकिने प्रकृतिका हुन्छन् । समयमै सूचना, सही तयारी, क्रमिक रूपमा उचाइ चढ्ने अभ्यास, प्रारम्भिक लक्षण देखिनेबित्तिकै विश्राम गर्ने वा तल झर्ने यसका उपाय हुन् । प्रशिक्षित गाइड, प्रभावकारी उद्धार र आधारभूत स्वास्थ्य पूर्वाधार उपलब्ध भए धेरै ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ । त्यसैले यो प्रश्न अब हिमालको कठोरताभन्दा पनि यात्रा गर्ने व्यक्तिको तयारी, सुरक्षा प्रणाली र नीतिगत प्राथमिकतासँग जोडिएको छ ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले हिमाली क्षेत्रमा लेक लाग्ने समस्या नयाँ नभए पनि उद्धार र स्वास्थ्य पूर्वाधार अझै कमजोर रहेको बताए । सन् १९९३ मा कैलाश मानसरोवर र ल्हासा यात्राका क्रममा आफूले पनि लेक लाग्ने समस्या अनुभव गरेको सुनाउँदै उनले भने, “मलाई पनि पटक–पटक लेक लागेको छ तर लक्षण थाहा पाएर सावधानी अपनाएँ ।”

दशकौँदेखि पर्यटन क्षेत्रमा सक्रिय गणेशका अनुसार हिमाली यात्रा गर्नेहरूमा पूर्वतयारी र जानकारीको अभाव ठूलो समस्याका रूपमा रहेको छ । “हिमाली यात्रामा जाने सबैले उचाइ, मौसम र स्वास्थ्य जोखिमबारे जानकारी लिनुपर्छ,” उनले भने, “हिमाली क्षेत्रमा आपत्कालीन उद्धार र कार्डियो उपचारको व्यवस्था बलियो हुनुपर्छ । समयमै उपचार पाए धेरैको ज्यान जोगाउन सकिन्छ ।”
हिमाली क्षेत्रमा पर्यटकको संख्या बढे पनि त्यसअनुसार स्वास्थ्य संरचना, उद्धार संयन्त्र र जनशक्ति विकास हुन नसकेको गणेश बताउँछन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले लेक लागेका अधिकांश घटना दुर्गम तथा उच्च हिमाली क्षेत्रमा हुने भएकाले उद्धार र खोजी कार्य चुनौतीपूर्ण हुने गरेको बताउँछन् । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय तथा आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरेर उद्धार टोली परिचालन गर्ने गरिएको पनि उनले जानकारी दिए ।

उनका अनुसार लेक लाग्ने घटना बढेका कारण उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरी परिचालन हुने क्रम बर्सेनि बढ्दै गएको छ । पछिल्ला चार आर्थिक वर्षमा यस्ता घटनामा मात्रै करिब दुई हजार प्रहरी परिचालन गरिएका छन् । प्रहरी प्रवक्ता अविनारायण भन्छन्, “उच्च हिमाली क्षेत्रमा जानेहरूले स्वास्थ्य सतर्कता अपनाए लेक लाग्ने समस्या र त्यसबाट हुने मानवीय क्षति घटाउन सकिन्छ ।”

‘लेक लागेर हुने मृत्यु सचेतनाले घटाउन सक्छ’

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का पूर्वतयारी तथा प्रतिकार्य शाखा प्रमुख फणिन्द्रप्रसाद पौडेलसँग लेक लागेर मानिसको मृत्यु किन हुन्छ र यसलाई रोक्न के प्रयास भइरहेको छ भन्ने बारेमा गरिएको कुराकानी :

लेक लागेर मृत्यु किन बढ्दै छ ?

यसको एउटा मात्रै कारण छैन । यात्राका क्रममा आवश्यक सावधानी नअपनाउनु, पर्याप्त जानकारी नलिनु र केही लापरबाहीका कारण पनि यस्ता घटना भएका छन् । सरकारले आवश्यक काम गरिरहेको भए पनि जोखिमबारे पर्याप्त सूचना सबैसम्म पुग्न सकेको छैन ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) रोकिएपछि ट्रेकिङ सुरक्षा कमजोर भएको हो ? 

केही प्रभाव परेको हुन सक्छ तर त्यही कारण सुरक्षा कमजोर भएको मान्न मिल्दैन । खराब मौसम, यात्रुको अपर्याप्त तयारी, आवश्यक सामग्रीको अभावलगायत कारणले पनि जोखिम बढ्ने गर्छ ।

ट्रेकरहरूको सुरक्षाका लागि राज्यबाट पर्याप्त लगानी भइरहेको छ ?

अहिले सरकारले यस क्षेत्रमा पर्याप्त लगानी गरिरहेको छ । जनशक्ति व्यवस्थापन, जोखिम न्यूनीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । यात्रामा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक काम अघि बढाइएको छ ।

टिम्स प्रणाली फेरि लागू गर्नुपर्छ भन्ने लाग्छ ?

हो, यो प्रणाली पुनः लागू गर्न आवश्यक छ । यसले यात्रुको अभिलेख राख्न, उनीहरूको अवस्थाबारे जानकारी लिन तथा कुनै घटना भए उद्धार र समन्वय गर्न सहज बनाउँछ ।

सरकारले कहाँ कमजोरी गरिरहेको छ ?

सरकार सुधारका लागि स्पष्ट रूपमा अघि बढिरहेको छ । तर अझ प्रभावकारी बनाउन नीति तथा नियममा थप सुधार आवश्यक छ । अभिलेखीकरण, सुरक्षा जाँच, सूचना व्यवस्थापन र समस्या समाधानका प्रक्रियालाई अझ व्यवस्थित बनाउनुपर्छ ।

ट्रेकरहरूको सुरक्षाका लागि अहिले सबैभन्दा बढी आवश्यक के हो ?

सूचनासहितको प्रभावकारी अभिलेखीकरण प्रणाली सबैभन्दा बढी आवश्यक छ । यात्रु कहाँ जाँदै छन्, कुन मार्ग प्रयोग गर्दै छन् र गन्तव्यका जोखिम के–के छन् भन्ने जानकारी प्रभावकारी रूपमा प्रवाह गर्न सकियो भने धेरै दुर्घटना रोक्न सकिन्छ ।

यसका लागि पहिलो कदम के हुनुपर्छ ?

यसमा सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य आवश्यक छ । मौसम पूर्वानुमान, सूचना प्रविधिमा आधारित चेतावनी प्रणाली, मोबाइल एपमार्फत सूचना प्रवाहजस्ता कामलाई प्रभावकारी बनाउनुपर्छ । सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्छ भने नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्छ ।

कभर तस्बिर : सगरमाथा क्षेत्रको एउटा उच्च हिमाली गाउँ । तस्बिर : रजनीश भण्डारी/नेशनल जियोग्राफिक सोसाइटी

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।