१ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण



अ+ अ-

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस वर्षको मनसुनको बाँकी अवधिमा पनि भारी वर्षा तथा विपद्को जोखिम उच्च रहेको बताउनुभएको छ ।

सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उहाँले मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले जोखिम व्यवस्थापनमा थप सतर्कता आवश्यक रहेको बताउनुभयो ।

नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र मनसुन बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ । भदौ १ सम्म आइपुग्दा मनसुनको करिब एक महिना १४ दिन अवधि बाँकी रहेकाले अब विपद् जोखिम व्यवस्थापनलाई ‘काउन्टडाउन’का रूपमा अघि बढाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

डा. उप्रेतीका अनुसार यस वर्ष देशभर समान रूपमा वर्षा भएको छैन । मध्यपहाडी क्षेत्रमा केही स्थानमा खण्डवृष्टि हुँदा ठूलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै उहाँले नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४ सय ७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८ सय २४ मिलिमिटर वर्षा भएको जानकारी दिनुभयो । यो वार्षिक औसतको करिब ५५ प्रतिशत हो । तर, वर्षाको कुल परिमाणभन्दा यसको वितरण र प्रवृत्ति असामान्य देखिएको उहाँको भनाइ छ ।

आगामी तीन दिनमा पश्चिम नेपालमा भारी वर्षा हुनसक्ने र तराई तथा मधेश क्षेत्रमा समेत ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुन कुनै बेला सक्रिय र कुनै बेला निष्क्रिय हुने भएकाले मौसमको अवस्थाअनुसार जोखिम व्यवस्थापनमा निरन्तर तयारी आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

डा. उप्रेतीले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग पनि जोडेर हेर्न सकिने बताउनुभयो । समुद्रको सतहको तापक्रममा आएको परिवर्तनका कारण जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गर्दा स्थानीय वायुसँगको अन्तरक्रियाले भारी वर्षा निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

त्यस्तै, हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ (आईओडी) को अवस्थाले पनि आगामी वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने उहाँले बताउनुभयो । हाल आईओडी तटस्थ अवस्थामा रहे पनि केही मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जानसक्ने संकेत गरेको उहाँले जानकारी दिनुभयो ।

आईओडी सकारात्मक अवस्थामा गएमा दशैं–तिहारको आसपाससमेत वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यद्यपि, अहिले नै त्यसबारे निश्चित रूपमा भन्न नसकिने उहाँको भनाइ छ ।

प्राधिकरणले मनसुनसम्बन्धी सूचना तथा पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह गर्न एकीकृत सूचना प्रणाली विकासको तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहहरूले जथाभावी डोजर प्रयोग गरी सडक निर्माण गर्दा वर्षायाममा पहिरोको जोखिम बढेको पनि उहाँले बताउनुभयो । अनावश्यक रूपमा सडक खन्ने तथा भू–क्षय बढाउने गतिविधि नियन्त्रण गर्न स्थानीय तहलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ ।

डा. उप्रेतीले बाँकी मनसुन अवधिमा सम्भावित भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।