काठमाडौं । नेकपा (एमाले)ले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उहाँको कार्यालय र घरमा खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाउनुभयो ।
सांसद राईले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिकलाई लेख्ने र बोल्ने अधिकार रहेको भन्दै पत्रकारलाई पक्राउ गर्ने र उनका घर तथा कार्यालयमा खानतलासी गर्ने कार्यप्रति प्रश्न उठाउनुभयो । सरकारले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्नेमा आफैं समाजमा संशय र असुरक्षा पैदा गरिरहेको उहाँको आरोप थियो ।
उहाँले भन्नुभयो, ‘यो सरकार अधिनायकवादतर्फ जाँदैछ । पत्रकारले लेख्न पाउने अधिकारबाट वञ्चित गरिएको छ । लोकतन्त्रमा यस्तो गर्न मिल्छ ? लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । सबै मानिसलाई लेख्ने र बोल्ने अधिकार छ ।’
सांसद राईले साउन २७ गते जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएपछि उहाँको घरमा खानतलासी गरिएको र ल्यापटपसमेत जफत गरिएको उल्लेख गर्नुभयो । पत्रकारलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उहाँले के आरोपमा पक्राउ गरिएको हो भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।
श्रेष्ठलाई साउन २७ गते सप्तरीका अमरकान्त चौधरीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । उहाँ हाल न्यायिक हिरासतमा हुनुहुन्छ ।











