काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहान महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । बिहान ९ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको उहाँले जानकारी दिनुभयो ।
भारतीय पक्षले शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ । जलस्तर घटेपछि मात्रै सवारीसाधन सञ्चालन सहज हुने जनाइएको छ ।
यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत सुदूरपश्चिम तथा आसपासका क्षेत्रमा पछिल्लो समय अत्यधिक वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले महाकाली नदीसँगै कञ्चनपुरका स–साना नदी तथा खोलामा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहनसमेत महाशाखाले अनुरोध गरेको छ ।











