काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो।
बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ। यसअघि रोहित पौडेलले राष्ट्रिय टोलीको नेतृत्व गर्दै आउनुभएको थियो।
आधुनिक क्रिकेटको आवश्यकता, खेलाडीको कार्यभार तथा सन् २०२७ र २०२८ का विश्वकपलाई लक्षित गर्दै दुईवटा फरक फम्र्याटका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गर्ने निर्णय गरिएको सचिव खड्काले बताउनुभयो।
उहाँले रोहित पौडेल नेपालका सर्वाधिक सफल कप्तानमध्ये एक रहेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको बताउनुभयो। तर, भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा हेरफेर गरिएको उहाँको भनाइ छ।
“रोहित पौडेल नेपालका सर्वाधिक सफल कप्तान हुन् र उहाँकै नेतृत्वमा हामीले ऐतिहासिक सफलताहरू हासिल गरेका छौँ। तर, भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा यो हेरफेर गरिएको हो,” सचिव खड्काले भन्नुभयो।
यस परिवर्तनले टोलीमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै युवा खेलाडीलाई अवसर प्रदान गर्ने क्यानको विश्वास रहेको उहाँले बताउनुभयो।
नेपाली टोली शुक्रबार नै भारत प्रस्थान गर्ने जानकारी दिँदै सचिव खड्काले भारतमा विशेष तयारी गरेपछि टोली उतैबाट मलेसिया जाने कार्यक्रम रहेको बताउनुभयो। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप नेपालका लागि महत्वपूर्ण प्रतियोगिता रहेको उहाँले उल्लेख गर्नुभयो। उक्त प्रतियोगिता एशिया कप छनोटको आधारसमेत भएकाले नेपालले प्रतियोगितालाई विशेष प्राथमिकतामा राखेको छ।
सचिव खड्काका अनुसार नेपालको मुख्य लक्ष्य एशिया कपमा छनोट हुनुका साथै ओडिआई वरीयतामा सुधार गर्नु हो। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि विदेशी भूमिमा अपेक्षाअनुसारको नतिजा निकाल्न नसकेको भन्दै अब बाह्य मैदानमा पनि प्रभावकारी प्रदर्शन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
“हाम्रो मुख्य उद्देश्य एशिया कपमा छनोट हुनु र ओडिआई वरीयतामा सुधार गर्नु हो। नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि बाह्य मैदानमा सोहीअनुरूपको नतिजा आउन सकेको छैन। अबको लक्ष्य भनेको विदेशी भूमिमा पनि उत्कृष्ट खेल पस्किनु हो,” उहाँले भन्नुभयो।
क्यानले अब व्यवस्थापनमा मात्र सीमित नभई क्रिकेटको विकासमा समेत विशेष ध्यान दिने योजना अघि सारेको छ। सचिव खड्काले क्रिकेट सामूहिक खेल भएकाले कुनै एक व्यक्तिको भन्दा पनि सिंगो राष्ट्रको जित महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले राष्ट्रिय टोलीलाई सहयोग गर्दै आएका सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो।
नेपाली राष्ट्रिय टोलीले एसीसी प्रिमियर कपसँगै आईसीसी विश्वकप लिग–२ का खेललाई पनि प्राथमिकतामा राखेको छ। त्यसैगरी, अस्ट्रेलियामा हुने नेपाली ‘ए’ टोलीको भ्रमणलाई समेत क्यानले महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारेको छ।
नेपाली क्रिकेटलाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउन सबै सरोकारवालाबाट निरन्तर सहयोग र धैर्यको अपेक्षा गरिएको क्यानले जनाएको छ।











