२७ श्रावण २०८३, बुधबार
,
Latest
मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी आङ्देम्बेको प्रश्न : ‘जेन–जीले खोजेको रोजगारी र सुशासन कहाँ छ?’ बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु, एक जना पक्राउ राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ।

मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्नुहुँदै उहाँले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताउनुभयो।

राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित सङ्ग्रह गर्नु अनिवार्य भएको उहाँको भनाइ छ।

“ यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद,” अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीहरूलाई भन्नुभयो, “अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।”

अवलोकनका क्रममा उहाँले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका सङ्ग्रहहरूबारे संक्षिप्त जानकारी लिनुभएको थियो।
सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए-नभएको सन्दर्भमा पनि कर्मचारीहरूसँग चासो राख्नुभएको थियो।अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेजहरू संरक्षण गर्नु चुनौतीपूर्ण बनेको बताउनुभयो।

अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखहरूको सुरक्षा गर्न कठिन बनेको उहाँको भनाइ छ। अभिलेखालयले स्रोतको अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको उहाँले बताउनुभयो।

महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधिको प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।