काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा ५ देखि १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीतिगत वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सरकार र कर्मचारी परिवर्तनसँगै नीति परिवर्तन हुँदा व्यवसायीहरू प्रभावित भएको बताउनुभयो । उहाँले ईभी क्षेत्रमा लगानी बढाउन दीर्घकालीन, स्थिर र न्यायपूर्ण कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो ।
अध्यक्ष सिटौलाले सार्वजनिक विद्युतीय सवारी सञ्चालनका लागि अनुमति दिनुअघि रुटको वैज्ञानिक अध्ययन तथा यात्रु संख्याको सर्वेक्षण गर्नुपर्ने बताउनुभयो । वास्तविक आवश्यकता र यात्रुको संख्याका आधारमा मात्रै सार्वजनिक सवारीको अनुमति दिनुपर्ने उहाँको भनाइ छ ।
सार्वजनिक यातायातको भाडादर राजनीतिक निर्णयका आधारमा नभई वास्तविक लागत र उचित प्रतिफललाई आधार बनाएर वैज्ञानिक रूपमा निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो । संघ र प्रदेश सरकारबीच भाडादर निर्धारणमा समन्वय नहुँदा निजी क्षेत्र समस्यामा परेको भन्दै उहाँले यातायातसम्बन्धी नीतिमा ‘वान डोर’ अर्थात् एकद्वार प्रणाली लागू गर्न माग गर्नुभयो ।
ईभीको प्रयोगलाई प्रोत्साहन गर्न देशभरका प्रत्येक पेट्रोल पम्पमा अनिवार्य रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने नीति ल्याउनुपर्ने सिटौलाले बताउनुभयो । चार्जिङ पूर्वाधार विस्तारमा सरकारले ठूलो मात्रामा अनुदान र प्रोत्साहन उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
सरकारले करको दायरा विस्तारमा मात्रै ध्यान नदिई ग्रामीण क्षेत्रसम्म चार्जिङ नेटवर्क विस्तारका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । पर्याप्त र सुरक्षित चार्जिङ पूर्वाधार निर्माण भएमा विद्युतीय सवारीको प्रयोग अझ विस्तार हुने उहाँको भनाइ छ ।
अध्यक्ष सिटौलाले ईभीका पार्टपुर्जा र ब्याट्रीको मूल्य तथा सहज उपलब्धताको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । खुला सीमाका कारण नेपालमा नक्कली तथा गुणस्तरहीन पार्टपुर्जा भित्रिने गरेको र त्यसले सवारी दुर्घटनाको जोखिम बढाएको भन्दै उहाँले त्यस्ता सामग्रीको आयातमा कडाइ गर्न माग गर्नुभयो ।
ईभी क्षेत्रमा सबैभन्दा ठूलो चुनौती ब्याट्रीको लागत, सुरक्षा र आयु रहेको उल्लेख गर्दै उहाँले यसका लागि स्पष्ट मापदण्ड र दीर्घकालीन नीति आवश्यक रहेको बताउनुभयो । ब्याट्री तथा आवश्यक पार्टपुर्जा सहज र सस्तो रूपमा उपलब्ध हुने व्यवस्था गर्न सकेमा लगानीकर्ता र उपभोक्ताको विश्वास बढ्ने उहाँको भनाइ छ ।
सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन पार्टपुर्जा आयातमा सहुलियत दिनुपर्ने विषयमा आफूले अर्थमन्त्रीसँग समेत छलफल गरेको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । उहाँले ईभी क्षेत्रको विकासका लागि कर नीतिसँगै पूर्वाधार, सुरक्षा, मापदण्ड र लगानी सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो।
न्यूजपोलार
२६ श्रावण २०८३, मंगलवार ११:५९
न्यूजपोलार
२६ श्रावण २०८३, मंगलवार ११:५९
२६ श्रावण २०८३, मंगलवार ११:५९










