काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टी सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताउनुभएको हो ।
अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस आफैँमा गौरवशाली इतिहास बोकेको सुन्दर पार्टी भएको दाबी गर्नुभयो । पार्टी सभापति थापालाई गाली गर्दा उल्टै उहाँलाई महत्व दिएको हुने भन्दै डा. कोइरालाले कार्यकर्ताहरूलाई त्यस्तो नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुपर्छ । हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबैभन्दा ठूलो अपमान हो ।”
नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएकोप्रति टिप्पणी गर्दै डा. कोइरालाले पार्टीको भविष्य युवाहरूको हातमा रहेको बताउनुभयो । आफूहरू वृद्ध हुँदै गएको उल्लेख गर्दै उहाँले युवालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेसको इतिहास र योगदानलाई बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसको स्थापना र लोकतान्त्रिक संघर्षमा बीपी कोइराला तथा कृष्णप्रसाद कोइरालाले गरेको योगदान स्मरण गर्दै उहाँले नेपाली जनतालाई अधिकार दिलाउन र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
पार्टीभित्र अहिले आफूलाई कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी दिइएको उल्लेख गर्दै डा. कोइरालाले सबै पक्षलाई समेटेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
“मैले आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले, संयोजक बनाएर । म एक्लो मान्छे हो । तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।
डा. कोइरालाले पार्टीको इतिहास, सिद्धान्त र योगदानलाई गहिराइपूर्वक बुझेर संगठनलाई थप सुदृढ बनाउन कार्यकर्ताहरूलाई आह्वानसमेत गर्नुभयो ।











