काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा शैक्षिक सहकार्य र भविष्यका साझेदारीमा जोड दिइएको छ ।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागी नीति निर्माता, कूटनीतिज्ञ तथा विज्ञहरूले द्विपक्षीय सम्बन्धको दीर्घ इतिहासको समीक्षा तथा भविष्यका सहकार्यका सम्भावनाहरूबारे छलफल भएको हो ।
‘उपलब्धिहरू, समसामयिक दृष्टिकोण र भावी सहकार्य’ शीर्षकमा भएको कार्यक्रममा विज्ञहरुले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धपछिको नेपाल–चीन सम्बन्धको विकासक्रममाथि छलफल तथा संवाद गर्नुभएको थियो । वक्ताहरूले नेपाल र चीनबीच विगत सात दशकदेखि आपसी सम्मान, सार्वभौमिकता, समानता, शान्तिपूर्ण सहअस्तित्व तथा पारस्परिक हितका सिद्धान्तमा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा उहाँहरुले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न शैक्षिक कूटनीतिको बढ्दो महत्वलाई उजागर गर्नुभएको थियो । विश्वविद्यालय, अनुसन्धान संस्था तथा थिंक ट्याङ्कहरूले नीति निर्माणमा प्रमाणमा आधारित दृष्टिकोण विकास गर्ने, संवाद प्रवर्द्धन गर्ने तथा आपसी समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्नेमा उहाँहरुको जोड थियो ।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक प्रा ऋषिराम कट्टेल, साङ्घाइ विश्वविद्यालयको कानुन सङ्कायका प्राध्यापक देङ युनछेङ, फुदान विश्वविद्यालयको अन्तरराष्ट्रिय अध्ययन संस्थानका प्राध्यापक झाङ च्याडोङ, अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विज्ञ डा रुपक सापकोटा, त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक डा बलराम दुवाल, छोङछिङ नर्मल विश्वविद्यालयको पुरातत्व विभागका प्राध्यापक कोङ लिङयुआन, क्लबका महासचिव डा कल्याणराज शर्मालगायतले अन्तरराष्ट्रिय सम्बन्ध, क्षेत्रीय राजनीति, विकास, शासन प्रणाली तथा सांस्कृतिक सहकार्यजस्ता विषयमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । रासस










