२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा गाजा योजना अस्वीकार



अ+ अ-

जेरुसेलम। अमेरिकी नेतृत्वको गाजा योजनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्वीकार गर्नुभएको छ । यसले उहाँलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टाढा बनाउने सम्भावना बढेको छ।

नेतन्याहुले आफूलाई प्यालेस्टाइनको प्रखर विरोधी नेताका रूपमा देखाएर नजिकै आएकोे चुनावअघि आफ्नो आधार मजबूत गर्न खोजिरहेको देखिएको छ ।

एक हप्ताभन्दा बढी समयदेखि योजनाको क्रमिक आलोचना गरेपछि र इजरायलले गाजाबाट तुरुन्तै फिर्ता सुरु गर्न नपर्ने आश्वासन पाए पनि आफ्ना दक्षिणपन्थी सहयोगीहरूको विरोधपछि नेतन्याहुले यस सम्झौताको स्पष्ट विरोध गरेको देखिएको छ ।

“इजरायलले १५–बुँदे दस्तावेज अस्वीकार गर्छ”, नेतन्याहुले भन्नुभयो, यो योजनालाई हमासले जुलाईको अन्त्यतिर स्वीकार गरेको थियो ।”

“हमासलाई वास्तविक रूपमा निःशस्त्र नगरेसम्म कुनै पनि इजरायलले आफ्नो कुनै पनि सेना फिर्ता गर्ने छैन, र इजरायली सेना तथा नागरिकहरूविरुद्धका खतराहरूलाई रोक्ने अभियान जारी राख्नेछ,” उहाँले मन्त्रिपरिषद्को बैठकमा भन्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा सम्झौतालाई शान्तिका लागि महत्त्वपूर्ण उपलब्धि भने पनि नेतन्याहुले राष्ट्रपति ट्रम्पले सारेको उक्त योजनालाई अस्वीकार गर्ने बताउनुभएको हो । कुनै समय उहाँले राष्ट्रपति ट्रम्पलाई ‘ह्वाइट हाउसमा इजरायलका ‘सबैभन्दा सहयोगी मित्र’ भनेर वर्णन गर्नुभएको थियो ।

शान्ति प्रस्तावबारे बोल्ने क्रममा उहाँले इजरायलले यसबारे अमेरिकाँसँग आपत्ति जनाइरहेको र सम्झौतालाई चुनौती दिन तयार रहने बताउनुभएको हो ।

“त्यहाँ उनीहरूका विचारहरू छन्; केही हामीलाई स्वीकार्य छन् र केही छैनन् । हामी यस्ता विषयमा आफ्नो अडान राख्न जान्दछौँ,” उहाँले भन्नुभएको छ।

इजरायलका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहु अक्टोबर २७ को चुनावअघि केही सर्वेक्षणमा बराबरीमा वा पछि परेको देखिएको छ । यो देशको सन् २०२३ अक्टोबर ७ मा हमासको विनाशकारी आक्रमणपछिको पहिलो चुनाव हो । हामास आक्रमणपछि गाजा युद्ध सुरु भएकबो थियो ।

सर्वेक्षणअनुसार गाजा योजना नेतन्याहुका दक्षिणपन्थी आधारमा अलोकप्रिय छ र उहाँको मन्त्रिपरिषद्का अति–दक्षिणपन्थी सदस्यहरूले यसलाई त्याग्न आग्रह गरेका छन्।

हमासले नयाँ नेता खलिल अल–हय्या चयन गरेको केही दिनपछि गाजा योजनालाई समर्थन गरेको घोषणा गरेको थियो । त्यसपछि हमासले वाशिङ्टनलाई नेतन्याहुलाई योजना स्वीकार गर्न दबाब दिन आग्रह गरेको छ ।

“हामी मध्यस्थकर्ता र अमेरिकी प्रतिनिधिबाट नेतन्याहु र उहाँको सरकारलाई मार्गचित्र पालना गर्न र आन्तरिक राजनीतिक तथा चुनावी कारणले प्रक्रियामा बाधा नपु¥याउन दबाब दिनेमा अपेक्षा गर्छौँ,” हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले एएफपीसँग भन्नुभयो ।

हमासले एक विज्ञप्तिमा योजनाप्रति अझै प्रतिबद्ध रहेको बताएको छ ।

– ट्रम्पसँग तनाव –

नेतन्याहुले हालसम्म ट्रम्पसँगको सम्बन्धको बलमा अभियान चलाइरहनुभएको थियो । राष्ट्रपति ट्रम्पले इजरायललाई अभूतपूर्व समर्थन दिनुभएको छ । यसमध्ये अमेरिकी दूतावास जेरुसेलम सारेर जेसेलमलाई एक स्वतन्त्र राज्यको मान्यता दिनेसम्म पहल उहाँले गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले फेब्रुअरीको अन्त्यतिर नेतन्याहुसँग मिलेर इरानविरुद्ध युद्ध सुरु गर्नुभएको थियो । तर जब यसले उहाँको लोकप्रियता घटाउन थाल्यो र तेलको मूल्य बढायो, तब ट्रम्पले युद्धविराम र त्यसपछिको समाधान खोज्दा दुई पक्षबीच मतभेद देखिएको थियो।

नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्लाई भन्नुभयो, “सम्झौतासहित वा बिना, म प्रधानमन्त्री रहँदासम्म इरानसँग आणविक हतियार हुने छैन।” उहाँले लामो समयदेखि तेहरानले यो लक्ष्य पछ्याइरहेको दाबी गर्दै आउनुभएको छ ।

नेतन्याहुले गत साता लेबनानमा नयाँ आक्रमणको आदेश पनि दिनुभएको छ । इजरायलले यसलाई इरान–समर्थित हिज्बुल्लाहद्वारा युद्धविराम उल्लङ्घनको प्रतिक्रिया भनेको थियो । त्यति बेला इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको थियो ।

गाजा योजना अक्टोबरमा घोषणा भएको अमेरिकी मध्यस्थताको युद्धविरामको पछिल्लो चरण हो । यसले इजरायली कारबाही घटाएको छ, तर पूर्ण रूपमा अन्त्य गरेको छैन।

हमासले नवगठित प्यालेस्टिनी शासन निकायलाई हतियार बुझाउने बताएको थियो । योजनाअनुसार इजरायलले निःशस्त्रीकरणसँगै सेना फिर्ता सुरु गर्ने उल्लेख छ, जसको समयरेखालाई इजरायलले कडा विरोध गरेको थियो ।

गत साता नेतन्याहुसँग भेटपछि ट्रम्पको सम्झौता कार्यान्वयन गर्ने निकाय ‘बोर्ड अफ पिस’ ले पछाडि हट्दै भन्यो कि इजरायलले हमासको ‘पूर्ण’ निःशस्त्रीकरणपछि मात्र सेना फिर्ता गर्नुपर्नेछ । हमासको अवस्था नेतन्याहुका लागि पर्याप्त नभएको उल्लेख छ ।

“हामी वास्तविक निःशस्त्रीकरणको कुरा गर्दैछौँ, काल्पनिक होइन,” उहाँले आइतबार भन्नुभयो ।

मुख्य मध्यस्थ इजिप्टले सबै पक्षलाई ‘आफ्ना प्रतिबद्धताहरू पूरा गर्न’ र प्रगतिलाई जोखिममा पार्ने कदम नचाल्न आग्रह गरेको छ । यो विदेशमन्त्री बद्र अब्देलत्ती र बोर्ड अफ पिसका गाजाका उच्च प्रतिनिधि निकोले म्लादेनोभबीचको वार्तामा भएको थियो।

नेतन्याहुको अडानका बाबजुद, योजना घोषणा भएदेखि इजरायलले गाजामा अपरेसन घटाएको देखिन्छ, तर पूर्ण रूपमा रोकेको छैन। (रासस/एएफपी)