काठमाडाैँ । बाँकेको राप्ती सोनारी गाउँपालिका-९ का बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलालाई नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ । “असार-साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले उठिबास लगाउने चिन्ताले सताउँथ्यो । तर, यो वर्षको वर्षायाम भने ढकेरीबासीका लागि फरक हुने भएको छ”, ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले भन्नुभयो, “दशकौँदेखि स्थानीयलाई सास्ती दिँदै आएको भक्ताखोलालाई अन्ततः इञ्जिनियरिङ र बलियो स्थानीय इच्छाशक्तिको बलमा बस्तीभन्दा टाढा, जङ्गल क्षेत्रमा थुनेर नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।”
राप्ती सोनारी-९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ, ढकेरी र पम्पबजारलाई प्रत्येक वर्ष कटान र डुबान गर्दै आएको भक्ताखोलाले अब समस्या नदिने बताउँदै खनालले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्नुभयो । विगतका वर्षहरूमा गाउँ पसेर उपद्रो मच्चाउने बाढीलाई गाउँ पस्नै नदिन बस्तीभन्दा धेरै पर जङ्गल क्षेत्रबाट तटबन्धन गरेर मोडिएको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । “प्रत्येक वर्षायाममा ठूलो पानी पर्नासाथ भक्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्या थियो । यो समस्या समाधान गर्न हामीले खोलालाई तटबन्धन गर्न सफल भएका छौँ”, वडाध्यक्ष थारुले भन्नुभयो, “अब वर्षायाममा भक्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या पूर्ण रूपमा हटेको छ ।”
लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख लागतमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनस्थित चुरे पहाडलाई कटान गरी भक्ताखोलालाई वन क्षेत्रबाटै वसन्ता खोलामा मिसाइएको छ । यो तटबन्धनपछि अब वर्षायाममा भक्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्तीभन्दा बाहिरै वसन्ता खोला भएर बग्ने छ, जसका कारण आधा दर्जन गाउँ सुरक्षित भएका छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भक्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले सधैँका लागि छुटकारा पाएका दाबी गर्नुभयो ।
भक्ताखोलाको यो सफल प्रयोग गाउँपालिकाका अन्य वडाहरूका लागिसमेत एउटा ढाँचा बन्न सक्ने उहाँले बताउनुभयो । चुरेको फेदीमा रहेका बस्तीका लागि भक्ताखोलाको यो डाइभर्सन तथा तटबन्धन आयोजना विकास र विपद् व्यवस्थापनको एउटा सकारात्मक उदाहरण बनेको उहाँले उल्लेख गर्नुभयो । “राप्ती सोनारी गाउँपालिकामा भक्ताखोलाजस्तै दर्जनौँ खहरेखोलाहरू छन्, जसले हरेक वर्ष गाउँबस्ती डुबानमा पार्ने गरेका छन्”, अध्यक्ष पौडेलले भन्नुभयो, “ती सबै खहरेखोलाको दीर्घकालीन समाधानका लागिसमेत हामीले पहल सुरु गरिसकेका छौँ ।”











