काठमाडाैँ । नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ ।
ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।
हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’ को भुमिकामा देखिनुहुनेछ । कार्यक्रममा नेपाली चलचित्र तथा हास्य क्षेत्रका स्थापित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
कार्यक्रमका लागि देशका प्रमुख पाँच शहरहरूमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ । तालिकाअनुसार साउन २९ गते दमक (कदम थिएटर), साउन ३१ गते नारायणगढ (राइनो वाटर होटल), भदौ २ गते नेपालगञ्ज (सिद्धार्थ होटल), भदौ ४ गते पोखरा (पोखरा थिएटर) र भदौ ६ गते काठमाडौंमा अडिसन सञ्चालन हुनेछ ।
भौतिक रूपमा अडिसन स्थलसम्म पुग्न असमर्थ तथा विदेशमा रहेका नेपाली भाषी प्रतिभाहरूका लागि डिजिटल अडिसनको समेत व्यवस्था गरिएको छ । अडिसनबाट छनोट भएका उत्कृष्ट ३२ प्रतिष्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन् ।
‘सुपर कमेडी लिग’ मुख्यतः समूहमा आधारित प्रतिष्पर्धा हुनेछ । यसमा एउटा स्क्रिप्टमा कम्तीमा दुई जना वा सोभन्दा बढी प्रतिष्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनुपर्नेछ ।
स्केच, स्किट तथा ड्रामेडी (ड्रामा र कमेडी) शैलीमा आधारित यस कार्यक्रमको मुख्य उद्देश्य परम्परागत कमेडियन मात्र नभई उत्कृष्ट ‘कमेडी एक्टर’ को खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताउनु भयो ।
नेपाल आइडल, सारेगमपा लिटिल च्याम्प्स, बुगी वुगी र मेरो भ्वाइस युनिभर्सजस्ता ठूला रियालिटी शोहरूको निर्देशन गरिसक्नुभएका अनुभवी निर्देशक श्रेष्ठले यस शोलाई नेपाली टेलिभिजनकै ‘प्रिमियम कमेडी रियालिटी शो’ का रूपमा स्थापित गर्ने लक्ष्य राख्नुभएको छ ।यो कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनका साथै ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत प्रशारण हुनेछ । त्यस्तै, कार्यक्रमका पर्दापछाडिका गतिविधिहरू सारङ्गी मिडियामार्फत हेर्न सकिनेछ ।
सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको यो विशुद्ध पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम भदौको अन्तिम सातादेखि नियमित प्रशारण हुनेछ । अनुभवी प्राविधिक टोली, प्रख्यात मेन्टर र नयाँ प्रतिभाहरूको समन्वयले नेपाली दर्शकलाई फरक स्वादको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।











